आँखाको नानीमा कतिपय अवस्थामा सेतो फुलो जस्तो देखा पर्छ। त्यो फुलो नानीमा लागेको घाउ हो। चोटपटक, किटाणुको संक्रमण तथा अन्य कारणले नानीमा घाउ हुने गर्छ।
कसरी हुन्छ ?
- खेतबारीमा काम गर्दा बोट-विरुवाको पातले नानी घोचेमा वा नानीमा चोटपटक लागेमा,
- बालबालिकाहरुलाई पोषण तत्वको कमी भएमा,
- आँखाको नानीमा संक्रमण भएमा।
कसरी थाहा पाउने ?
- आँखा रातो भई नानीमा सेतो फुलो देखिएमा
- आँखा दुखेर घाम वा उज्यालोमा हेर्न गाह्रो भई आँसु आएमा
- आँखाले धमिलो देख्ने भएमा।
रोकथाम तथा उपचार
- खेतबारीमा काम गर्दा सावधानी अपनाउने,
- आँखा सुरक्षित हुनेगरी चस्मा लगायतका साधनको प्रयोग गर्ने,
- बालबालिकालाई भिटामिन ए युक्त खानेकुरा खुवाउने,
- बालबालिकालाई जथाभावी धारिलो तथा तिखो वस्तुहरु खेल्न नदिने।
आँखाको नानीमा हुने घाउ जटिल समस्या हो। समयमै उपचार नभएमा आँखाको ज्योति गुम्नुका साथै अन्त्यमा आँखाको नानी फेर्नुपर्ने समेत हुनसक्छ। त्यसैले लक्षण तथा समस्याको पहिचान भएलगत्तै स्वास्थ्य संस्था तथा आँखा उपचार केन्द्रमा उपचारका लागि गइहाल्नुपर्छ।