उच्च रक्तचाप भए, नभएको थाहा पाउने एउटै मात्र उपाय रक्तचाप नाप्ने हो । रक्तचाप बढेको कुरा नापेर मात्र थाहा हुन्छ, लक्षणमा भर पर्नु हुँदैन । किनकि उच्च रक्तचापको कुनै पनि लक्षण नहुन सक्छ । ३० वर्ष उमेर काटिसकेका स्वस्थ व्यक्तिले कम्तिमा वर्षको १ पल्ट रक्तचाप नाप्नु आवश्यक हुन्छ । टाउको दुख्ने, चक्कर लाग्ने, छाती दुख्ने, दम फुल्ने, नाकबाट रगत आउने आदि भएमा तुरुन्त रक्तचाप जँचाउनु पर्छ । उच्च रक्तचाप उत्पन्न गराउने कारक तत्वहरुको जोखिममा रहेका व्यक्तिहरुले नियमित रुपमा कम्तिमा ३ महिनामा १ पल्ट रक्तचाप जँचाउनु आवश्यक हुन्छ ।
उच्च रक्तचापको जोखिममा को ?
-परिवारमा उच्च रक्तचाप, हृदयाघात, पक्षाघात, मिर्गौला फेल, दृष्टिघात आदि भएका
-शारीरिक तौल आवश्यक भन्दा बढी भएका
-गर्भवती महिला
-गर्भनिरोधक (परिवार नियोजनका) चक्की प्रयोग गर्दै गरेका महिला
-धुम्रपान गर्ने व्यक्ति
-उच्च रक्त कोलेस्टेरोल भएका व्यक्ति
-अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति