सुर्खेत– चिसोसँगै फैलिएको भाइरल ज्वरोले दुई सातामा १२ जनाको ज्यान लिएको छ। प्रदेश ६ का दुई जिल्ला हुम्ला र जाजरकोटमा भाइरल ज्वरोले पछिल्लो दुई सातामा १२ जनाको मृत्यु भएको हो।
रुघाखोकी र भाइरल ज्वरोका कारण हुम्लामा ६ जनाको मृत्यु भएको छ भने जाजरकोटमा पनि ६ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा वृद्धवृद्धा र शिशु छन्।
जाजरकोटको जुनीचाँदे गाउँपालिका ६५ वर्षीया धनसरा नाथ, ५३ वर्षीया आइती तिरुवा, ७२ वर्षीय सतरुप शाहीसहित नाम नखुलेका ३ जना नवजात शिशुको मृत्यु भएको छ। स्वास्थ्यचौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले भाइरल ज्वरोबाट उनीहरुको मृत्यु भएको पुष्टि गरे।
हुम्लाको ताजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकामा फैलिएको भाइरल ज्वरोले पनि ६ जनाको ज्यान लिइसकेको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि जिल्ला सदरमुकामबाट चिकित्सक र औषधिसहितको टोली पुगिसकेको छ। उक्त टोलीले २ दिनदेखि प्रभावित क्षेत्रका नागरिकको उपचार गरिरहेको छ।
जाजरकोटको जुनीचाँदेमा पनि प्रकोप नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले एक टोली पठाइसकेको छ। कार्यालयका प्रमुख रामबहादुर नेपालीले औषधिसहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिए।
दुवै जिल्लाका स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुँदा बिरामीले ज्यान गुमाएको स्थानीयले गुनासो गरेका छन्।