राजविराज- विशेषज्ञको अभावमा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका करोडौं मूल्यका अत्याधुनिक उपकरण बेकम्मा भएर थन्किएका छन्।
अस्पतालको सेवा विस्तारका लागि उपलब्ध उपकरण थन्किएर सर्वसाधारणले उपचार नपाउँदा समेत कुनै पनि निकायले चासो दिएका छैनन्।
तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको विशेष पहलमा नयाँ अल्ट्रासाउन्ड, अटोमेटिक एनेस्थेसिया मेसिन, फुल अटोमेटिक ल्याब, होरिजेन्टल एक्स–रे मेसिन, अक्सिजन मेसिन र डायलसिस मेसिन जस्ता अत्याधुनिक उपकरण हालसम्म सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दयाशंकर लाल कर्णले बताए।

'मन्त्री थापाको पहलमा अस्पताललाई २ करोड २४ लाखको अत्याधुनिक उपकरण खरिद गरिएको थियो,' उनले भने, 'स्वास्थ्य विभाग तथा मन्त्रालयबाट समेत थप उपकरण उपलब्ध भएको छैन। विशेषज्ञ डा. नहुँदा अधिकांश आएका उपकरणसमेत प्रयोगविहीन अवस्थामा छन्।'

अलपत्र अवस्थामा रहेका उपकरणका लागि आफनो तहबाट सक्दो प्रयास गरिरहे पनि सम्भव नभएको डा. कर्णको भनाइ छ। अस्पतालमा विशेषज्ञ चिकित्सक तथा विभिन्न सेवाको अभावमा जटिल प्रकृतिका बिरामी उपचारका लागि धरान, विराटनगर तथा भारतका दरभंगा लगायत विभिन्न ठाउँका अस्पतालमा जान बाध्य छन्।

सर्वसाधारण तथा बिरामीको सहजताका लागि सरकार र सम्बन्धित निकायले तत्काल विशेषज्ञ डा. पठाउनुपर्ने स्थानीयवासीको माग छ।
विशेषज्ञ डाक्टरको अभाव, अधिकांश पद रिक्त
अञ्चल अस्पतालमा दरबन्दीको अनुपातमा अधिकांश डाक्टरहरुको पद रिक्त रहेका कारण उपचार सेवा प्रभावित हुने गरेको छ। मेडिकल सुपरिटेन्डेन्टसहित १९ विषयगत डाक्टरको दरबन्दीमा ६ जना मात्र रहेका कारण बिरामीहरुलाई समयमा उपचार गर्न नसकिँदा अस्पताल रेफरल सेन्टर बनेको छ।
दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेको अञ्चल अस्पतालमा वर्षौंदेखि विभिन्न विषयका विशेषज्ञसहित एक दर्जनभन्दा बढी डाक्टरको पदपूर्ति नहुँदा उपचार सेवा प्रभावित भएको मेडिकल सुपरिटेन्डेन्ट कर्णले बताए। अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ लगायतको पद रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ।

नवौं तहका २/२ जना स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फिजिसियन एक जनाको पद समेत रिक्त छ। यस्तै, छालारोग विशेषज्ञ, प्याथोलोजिष्ट, एनेस्थेटिष्ट, कन्सलटेन्ट सर्जन, अर्थोपेडिक सर्जन, साइकेट्रिक सर्जन, जेनेरलोजिष्ट, रेडियोलोजिष्ट, अस्पताल 4 प्रशासक २ जना, मेडिकल अधिकृत ४ जना लगायतको पद पनि रिक्त रहेका कारण बिरामीको चाप बढे पनि सेवा दिन धौधौ परेको कर्ण बताउँछन्।
हाल अस्पतालमा एघारौं तहका मेसु कर्ण, नवौं तहका डा. टेकनारायण मण्डल, डा. रञ्जित झा, आठौं तहका डा. दीपा यादव र उषा देव मात्र उपलब्ध रहेको अस्पताल प्रशासनले जनाएको छ।
यता, उपलब्ध डाक्टर पनि अस्पतालमा सेवा दिनुभन्दा क्लिनिकमुखी भएका कारण अञ्चल अस्पतालमा सामान्य बिरामीको पनि उपचारमा समस्या रहेको सेवाग्राहीको गुनासो छ।