काठमाडौं- स्वास्थ्यमन्त्री दीपक बोहराले कान्ति बाल अस्पतालको सुधारका लागि तत्कालै ३ करोड रकम उपलब्ध गराइने बताएका छन्।
अस्पतालको ५६औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री बोहराले अस्पतालले पेश गरेको मागका आधारमा रकम उपलब्ध गराउन मन्त्रालयले आवश्यक कार्य अगाडि बढाइसकेको जानकारी दिए।
‘अस्पतालले सुधारका लागि माग गरेको रकमको फाइल मन्त्रालयमा कतै हरायो भन्ने सुनिन्छ’, उनले भने, ‘तर एउटा फाइल हरायो भने निराश हुनुपर्दैन, अर्को फाइल बनाएर भए पनि रकम उपलब्ध गराइन्छ।’
यस्तै, स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अस्पतालको विकास र विस्तारका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको बताइन्।
अस्पतालका निर्देशक डा गणेश राईले फोहोरमैला व्यवस्थापन, जनशक्ति, आइसियू सेवा विस्तार लगायतका लागि मन्त्रालयसँग रकम माग गरिएको बताए।
अस्पतालका अध्यक्ष सुबोध अचार्यले केन्द्रीय बाल अस्पतालमा अझै पनि नाक, कान, घाँटीको डाक्टर नै नभएको लगायतका समस्या सुनाएका थिए।