बाजुरा– जिल्ला अस्पताल बाजुरामा कार्यालय सहयोगीले बिरामीको एक्सरे गर्ने गरेका छन्। एक्सरे गर्ने कर्मचारी अस्पातलमा नहुँदा कार्यालय सहयोगी दिल विष्टले एक्सरे मेसिन सञ्चाल गर्दै आएका हुन्।
एक्सरे सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा एक सातादेखि जिल्ला अस्पतालको एक्स रे कार्यालय सहायक विष्टको भरमा छ।
जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत रेडियोग्राफर बोलराज आर्चाय घर विदामा गएपछि कार्यालय सहयोगी विष्टले मेसिन चलाउने गरेका हुन्। डार्करुम असिटेन्ट प्रभा भण्डारीले रेडियोग्राफरमा नाम निकालेर दार्चुल्ला गएपछि उक्क्त पद एक महिनादेखि रिक्क्त भएको छ। एकजना मात्र रेडियोग्राफर आर्चाय पनि घर बिदामा गएपछि विष्टले एक्सरे गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए।
‘बोलराज आर्चय घरमा जरुरी काम भएर बिदामा गएका हुन्। उनले एक्सरे गर्न कार्यालय सहयोगी विष्टलाई सिकाएर गएका हुन्। त्यसैले विष्टले एक्सरे गर्दै आएका छन्,’ डा विश्वकर्माले भने, ‘पहिला दुई जना कर्मचारी हुँदा समस्या थिएन, डार्करुम असिटेन्ट प्रभा भण्डारीले एक तह माथि नाम निकालेर अर्को जिल्ला गएपछि समस्या आएको छ।’
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका चिकित्सक डा दुर्गा महर्जनले कोही नहुँदा कार्यालय सहयोगीबाट एक्सरे सेवा उपलब्ध गराउन वाध्य भएको बताए। ‘कार्यालय सहयोगीलाई खासै एक्सरे गर्न आउँदैन, एकै जनाको पनि ४–५ पटक एक्सरे गर्न लगाउने गरेका छौं,’ डा महर्जनले भने, ‘कार्यालय सहयोगीले गर्दा बिरामीको रोग पत्ता लगाउन र उपचार गर्न समस्या छ।’ जिल्ला अस्पतालमा दैनिक १५ देखि २० जनाको कार्यालय सहयोगीले एक्सरे गर्दै आएका छन्। जटिल खाले रोगको एक्सरे भने नहुने गरेको महर्जनले बताए।
विष्टले जटिल खालको भन्दा सामान्य खालको एक्सरे मात्र गर्दै आएको जनस्वाथ्य अधिकृत रमेश कुँवरले बताए। उनले लोकसेवा अयोगलाई एकजना रिक्क्त भएको जानकारी लेखिपठाएका छौं। एकजना मात्र हुँदा केही काम परेर बिदा बस्दा समस्या हुने कुवरले बवताए।
जिल्ला अस्पतालमा कार्यालय सहयोगी दिल विष्ट बिरामीको एक्सरे गर्दै।