काठमाडौं– बिनासूचना नर्सलाई निष्कासन गरेपछि आन्दोलनमा उत्रेका भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका कर्मचारीले दोस्रो दिन पनि कालोपट्टी बाँधेर उपचार सेवा दिइरहेका छन्।
शनिबारदेखि दबावस्वरुप अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले कालोपट्टी बाँधेर काम गर्न थालेको नर्स दुर्गा सापकोटाले जानकारी दिइन्। विगत ७ महिनादेखि न्यायको माग गर्दै आएकी नर्स त्रजिना जतिको स्वास्थ्य अवस्था भने बिग्रँदै गएको उनले बताइन्।
केही दिनअघि एक्कासी रक्तचाप बढेर अस्पताल भर्ना भएकी त्रजिनाको अवस्था सुध्रिन नसकेको बताइएको छ। यसैगरी अर्की नर्स सजना देउलाको स्वास्थ्यमा भने क्रमिक सुधार आइरहेको छ।
प्रत्यारोपण केन्द्रमा देखिएको समस्याबारे सत्यतथ्य छानबिन गर्न स्वास्थ्य मन्त्रालय अन्तर्गत चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा एक समिति बनाइएको छ। समितिले आज प्रतिवेदन बुझाउन लाग्दा दिउँसो २ बजे मन्त्रालयले सम्बद्ध सबै पक्षलाई बैठकमा बोलाएको छ।
यसअघि पनि समिति बनेर प्रतिवेदन बुझाए पनि मन्त्रालयबाट निर्णय फरक आएपछि नर्सहरुले यसपाली छानबिनसँगै संघर्ष जारी राखेका छन्। आइतबार नर्सका पक्षमा निर्णय नभए सोमबारदेखि उपचार सेवा ठप्प पार्नेसम्मको अवस्था निम्तन सक्ने आन्दोलनमा उत्रेकाहरुले बताएका छन्।