काठमाडौं– सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनबाट बर्खास्तीमा परेका डा शशि शर्मालाई चार वर्षपछि पुनर्वहाली गर्न आदेश दिएको छ।
प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्माको पक्षमा फैसला सुनाएको हो। शर्माले पुनर्वहाली पाए पनि त्रिविमा उनको कार्यकाल पुस ३० गते सकिनेछ। यस हिसाबले उनले डीनका रुपमा अब ६ दिन मात्र काम गर्न पाउनेछन्।
सरकारले डा शर्मालाई आइओएमका डीनबाट ०७० माघ ८ गते बर्खास्त गरेको थियो। आफूलाई हटाउने निर्णयलाई चुनौती दिँदै शर्मा फागुन १ गते सर्वोच्च पुगेका थिए।
शर्माको रिटमा पहिलो सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले फागुन ११ गते अन्तरिम आदेश जारी नहुने भनेको थियो।
उक्त रिटमा आइतबार अन्तिम सुनुवाइ गर्दै प्रधानन्यायाधीश पराजुलीको नेतृत्वको इजलासले हटाउने निर्णय गैरकानुनी भएको ठहर गरेको हो।
राजनीतिक पहुँच र विभिन्न चलखेलका आधारमा कनिष्ठ पनि डीन बन्न थालेपछि तत्कालीन समयमा डा गोविन्द केसीले वरिष्ठताको आधारमा डीन नियुक्त हुनुपर्ने लगायतका माग गर्दै अनसन बसेका थिए। अनसनको माग सम्बोधन गर्ने भन्दै सरकारले शर्मालाई पदबाट हटाएको थियो।
शर्माको बर्खास्तीपछि वरिष्ठताको आधारमा डा राकेश श्रीवास्तव डीन नियुक्त भएका थिए। श्रीवास्तवले राजीनामा दिएका थिए। हाल जगदीशप्रसाद अग्रवाल डीन छन्।