काठमाडौं– सर्वोच्च अदालतले डा शशि शर्मालाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीन पदमा पुनर्वहालीको फैसला गर्दै चार दिनका लागि काम गर्न परमादेश जारी गरेको छ।
आइतबार शर्मालाई पुनर्वहाली गर्न आदेश गर्दै हालका डीन जगदीशप्रसाद अग्रवालको बारेमा पनि नियुक्ति गैरकानुनी नभएको फैसलामा उल्लेख छ।
अग्रवालको नियुक्ति गैरकानुनी भएको भनी पुष्टि गर्ने आधार र कानुन नभएको जिकिर गर्दै सर्वोच्चले शर्माको हकमा पुनः वहाल हुन चाहेमा मात्र बाँकी समयमा उपस्थित भई हाजिर हुन पाउने बाटो खोलेको हो।
सर्वोच्चको फैसलाका आधारमा शर्मा आजको मितिबाट बुधबारसम्म डीन हुन पाउनेछन्। हालका डीन अग्रवालको विषयमा सर्वोच्चले गैरकानुनी नभनेकाले शर्मापछि उनी नै निरन्तर पदमा रहने देखिन्छ।
‘हाल नियुक्त भएका प्रा डा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई गैरकानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको र एउटा संस्थाको सञ्चालनमा डीनको नियुक्तिको अभावमा विपक्षी संस्थालाई पर्न सक्ने असरलाई पनि न्यायको रोहमा विचार गर्नुपर्ने भएकाले निजको नियुक्तिलाई यस मुद्दाबाट बोल्न मिलेन’, सर्वोच्चको फैसलमा भनिएको छ।
२०७० पुस २८ गते नियुक्त भएका डा शर्माको चारवर्षे पदावधि यही पुस २७ गते सकिनेछ। आइतबारको आदेशमा निवेदकले बाँकी चार दिनको हकमा वहाल हुन चाहेमा आजैका मितिबाट बहाल हुन जानू भनिएको छ।
