काठमाडौं- स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जाजरकोट र हुम्लामा फैलिएको रुघाखोकी, ज्वरोका विषयमा आधिकारिक जानकारी सार्वजनिक गरेको छ।
महाशाखाका निर्देशक डा भीम आचार्यले दुवै जिल्लाको गरी ८ बुँदे जानकारी सार्वजनिक गरेका हुन्। जानकारी पत्रमा दुवै जिल्लामा रुघाखोकी र ज्वरोका बिरामी बढेको तर हालसम्म कसैको मृत्यु नभएको उल्लेख छ।
महाशाखाले जाजरकोटका विषयमा ५ बुँदे र हुम्लाका विषयमा ३ बुँदे जानकारी सार्वजनिक गरेको छ। जसमा बिरामी बढेसँगै स्वास्थ्यकर्मी सहितको टोली पठाइएको उल्लेख छ।
जानकारी पत्रमा हुम्लामा मृत्यु भएका भनिएका ७ जनामध्ये ५ जना ८० वर्ष माथिका, १ जना १५ वर्षका र अर्का १ जना २५ वर्षका छन्। तीमध्ये १५ वर्षे युवाको क्रोनिक एब्डोमिनल पेन (पेटको अत्याधिक दुखाई), २५ वर्षे युवाको क्षयरोग र बाँकी ५ जना वृद्धको दमका कारण मृत्यु भएको उल्लेख छ।
यस्तै जाजरकोटमा मृत्यु भएका ५ जनामध्ये एक जना ८ दिनको बच्चा हुन् भने बाँकी ४ जना ५२ देखि ७२ वर्षका छन्। महाशाखाले ती सबैको मृत्यु रुघाखोकी ज्वरोबाट नभएको दाबी गरेको छ।
हरौँ महाशाखाले सार्वजनिक गरेको जानकारी पत्र

