काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनशन बसेका डा गोविन्द केसी सोमबार दिउँसो ३ बजेदेखि फेरि अनशन बस्ने भएका छन्।
सर्वोच्च अदालतले बर्खास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई पुनर्वहालीको आदेश दिएपछि डा केसी पुनः अनशनमा बस्ने निर्णयमा पुगेका हुन्। डा केसीले यसपटक प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध अनशन बस्ने भएका हुन्। डा केसीले भनेका छन्, 'न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफियाहरुविरुद्ध लड्नुको अब विकल्प छैन।'
अनशनका विषयमा जानकारी दिन डा केसीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन्। पत्रकार सम्मेलन सकिए लगत्तै अनशनमा बस्न लागेको डा केसीका सहयोगी डा अभिषेक सिंहले जानकारी दिए।
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले डा शशी शर्मालाई डिनबाट बर्खास्त गरेका थिए। त्यस विरुद्ध डा शर्मा अदालत गएका थिए। आइतबार प्रधानन्यायाधीश पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई पुनर्वहाली गर्न आदेश दिएको थियो। यो आदेशपछि शर्मा जम्मा ४ दिनका लागि डिन बनेका छन्। शर्माको पदावधि पुस २८ मा सकिनेछ।