काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनसन बसेका डा गोविन्द केसी आज दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका छन्।
डा केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै पाँचबुँदे मागसहित अनसनको घोषणा गरेका हुन्। यो उनको १४औं अनसन हो।
बर्खास्तमा परेका आइओएमका डीन डा शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्वहालीको आदेश दिएपछि डा केसी अनसनमा बस्न लागेका हुन्। डा केसीले यसपटक प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बस्ने बताएका छन्।
न्यायालयमा न्याय किनबेच भएको आरोप लगाउँदै उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेका कामको छानबिन गर्नुपर्ने माग गरेका छन्।
'पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्। तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस्', सत्याग्रहका पाँचबुँदे मागको पहिलो बुँदामा डा केसीले उल्लेख गरेका छन्।
यसका साथै डा केसीले चिकित्सा शिक्षा आयोग तत्काल गर्नुपर्ने, आइओएसमका डीनमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।
डा केसीले सर्वोच्चले पुनर्वहाली गरेको नयाँ डीन डा शर्मालाई आफूले नमान्ने बताएका छन्।
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले डा शशि शर्मालाई डीनबाट बर्खास्त गरेका थिए। त्यस विरुद्ध डा शर्मा अदालत गएका थिए।
आइतबार प्रधानन्यायाधीश पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई पुनर्वहाली गर्न आदेश दिएको थियो। यो आदेशपछि शर्मा जम्मा ४ दिनका लागि डीन बनेका छन्। शर्माको पदावधि पुस २८ मा सकिँदै छ।
डा केसीका मागहरु:
१) पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्। तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस्।
२) चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस्।
३) आइओएमका डीनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस्। माफिया डीनको पुनर्वहाली तुरुन्त खारेज गरियोस्।
४) मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस्।
५) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस्।
१) सरकारीसंस्था भएकाले त्रिवि शिक्षण अस्पतालको शैक्षिक कार्यक्रम र सेवा प्रवाहको सम्पूर्ण आर्थिक भार राज्यले व्यहोर्ने व्यवस्था गर्ने। हाल १० प्रतिशत मात्र शय्याहरु निःशुल्क भएकोमा त्यसलाई बढाएर ५० प्रतिशत पुर्याइनुपर्ने। आम नागरिकहरुका लागि उपचार सस्तो र सुलभ बनाउने तथा अस्पतालका विद्यार्थी, चिकित्सक र कर्मचारीलाई विगतमा जस्तै सम्पूर्ण उपचारको व्यवस्था गर्ने।
२) कार्यरत नर्स तथा विद्यार्थीहरुका लागि नयाँ आवास तथा छात्रवासको व्यवस्था गर्ने, अडिटोरियम हल र परीक्षाहलसहित उपयुक्त क्षमताका क्याम्पस भवनहरुको निर्माण गर्ने। पुस्तकालय वर्षभर चौबिसै घन्टा र सातै दिन खुला राख्ने व्यवस्था गर्ने।
३) अस्पतालको औषधि पसल विस्तार र सही व्यवस्थापन गरेर अस्पतालमा आएका सबै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था गर्ने।
४) इमर्जेन्सी विभागमा आउने सबै बिरामीका लागि सुविधाजनक उपचारकालागिसेवा बिस्तार तथा वृद्धि गर्ने, बिरामी दलालहरु तथा तिनलाई प्रयोग गर्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने। आइसियू, एनआइसियू, अपरेसन थिएटर लगायतका संरचना र क्षमता बिस्तार गरेर अधिकतम बिरामीलाई सेवादिने र अपरेशनको 'क्यू' घटाउने। साथै, संविधानमा लेखिए बमोजिम सबै खालको इमर्जेन्सी सेवा पूर्णरुपमा निःशुल्क गर्ने।
५) चिकित्सक, नर्स र कर्मचारीहरुलाई वरिष्ठता र योग्यताअनुसार समयमा स्थायी र बढुवा गर्ने व्यवस्था गर्ने। नियम तथा मान्यता मिचेर नेता (नर्स, कर्मचारी, चिकित्सक र प्राविधिकहरु) र पदाधिकारीहरुको नातागोता तथा पार्टीका कार्यकर्ताहरुलाई नियमविपरीत पदस्थापना, स्थायी र बढुवा नगर्ने तथा गरेकालाई खारेज गर्ने।
६) थप शुल्क लिएर दिइने इएचएस सेवाअन्तर्गत शल्यक्रिया लगायतका सेवालाई तुरुन्त कार्यान्वयन गर्ने।
७) शौचालयहरु थप्ने, सरसफाइका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने तथा अस्पतालका बिरामीहरुलाई असर नपर्ने गरी इन्सीनरेटरको व्यवस्थापन गर्ने।