काठमाडौं– अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा.गोविन्द केसीलाई रिहा गर्न डा.बाबुराम भट्टराईले माग गरेका छन्। आफु डा.केसीको पक्षमा रहेको र उनको अभियानमा आफ्नो समर्थन रहेको उनले बताएका छन्।
डा.केसी पक्राउ परेपछि उनले फेसबुकमा लेखेका छन्– ‘मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबै नेपालीको पहुँचको माग राखी संघर्षरत डा.गोविन्द केसी पक्राउ परेको खबरले दुःखी छु। डा.केसीको शीघ्र रिहाइका लागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु। चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि डा.केसीको अभियानमा सदाझैं मेरो र नयाँ शक्तिको ऐक्यबद्धता छ ।’
आईओएमको डिन नियुक्तिसम्बन्धि मुद्दामा डा.केसीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। डा.केसीलाई शिक्षण अस्पतालबाटै प्रहरीले पक्राउ गरेको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।