काठमाडौं - अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा गोविन्द केसीको समर्थनमा आज बिहान ८ बजे माइतिघरमा प्रदर्शन हुने भएको छ।
डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को आयोजनामा प्रदर्शन हुन लागेको हो। एलायन्सले डा केसीको हरेक अनसनमा साथ दिँदै आएको छ।
डा केसीलाई हिजो राती ८ बजे प्रहरीले अनसनस्थलबाट नै पक्राउ गरिएको हो। डा केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेका छन्।
डा केसीले ४ वर्ष अघि बरखास्तमा परेका आइओएमका डिन डा शशी शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि सोको विरोध गरेका थिए। सोही प्रकरणमा उनले हिजो दिउसोबाट अनसन सुरु गरेका छन्। प्रहरी हिरासतमा रहेका डा केसीले त्यहाँ पनि अनसन जारी राखेका छन्।