काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूहरु सबैलाई मुद्दा लगाउन प्रधानन्यायाधीसामु चुनौती दिएका छन्।
हिजो पक्राउ परेका केसीको समर्थनमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले चुनौती दिएका हुन्। 'जुन आरोप लगाएर केसीलाई पक्राउ गरियो। यहाँ उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गरियोस्,' उनले भने।
सम्मानित अदालतप्रति सम्मान रहे पनि न्यायाधीशको भ्रष्ट प्रवृत्तिका कारण न्यायालयमाथि सधैं प्रश्न उठ्ने गरेको उनको भनाइ थियो। उनले थपे, 'श्रीमान्, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी लगाइयोस्।'
तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालको स्मरण गर्दै उनले अदालतबाहिरको नाराकै कारण आफूहरुलाई राजद्रोहको मुद्दा नलागेको बताए। 'अदालतमा बहस चलिरहँदा मैले भनेको थिएँ, बाहिर के नारा लागिरहेको छ सुन्नुस्। नारा लागिरहेको थियो- ज्ञाने चोर देश छोड। त्यसपछि बहस गरिरहनुभएका सुवास नेम्वाङले 'गगनलाई मानहानी लाग्छ भने बाहिरका सबैलाई लगाउनुस्' भनेपछि हामीलाई तारेखमा छाडिएको थियो,' उनले भने।
केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले उनले उठाएका मागबारे गम्भीर छानबिन गर्न पनि आग्रह गरे।