काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अदालत कानुनको धारामा नभई जनताको विश्वासमा अडिएको स्मरण गराएका छन्।
डा गोविन्द केसीको समर्थनमा आज माइतीघरमा आयोजित प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले राजाको शासनकालको बेला आफूहरु थुनिँदा अन्तिम भरोसा सर्वोच्च अदालत नै हुने गरेको बताउँदै अहिले यसले जनताको विश्वास गुमाएको संकेत गरे।
‘यो सम्मानित अदालत कुनै कानुनको धारामा होइन, जनताको विश्वासमा अडिएको हुन्छ’, थापाले भने, ‘जनताको विश्वास गुमाएको दिन यो लर्खराउँछ।’ उनले प्रदर्शनलाई अदालतको अपमानका निम्ति होइन, अदालतको सम्मान बढाउनको निम्ति भएको समेत बताए।
‘यो विषय कुनै एउटा व्यक्तिप्रति केन्द्रित विषय होइन। हामीले वर्षौंसम्म लगातारको संघर्षले प्राप्त गरेको एउटा शासन व्यवस्था, जहाँ सबैभन्दा बढी सम्मान यो अदालतको रहनुपर्छ भन्ने हाम्रो मूल्यमाथि धावा बोलिएको अवस्थाप्रतिको प्रतिरोध हो’, थापाले भने।
थापाले आफूहरुलाई पनि मानहानि लगाउन सर्वोच्च अदालतलाई चुनौती दिएका छन्। ‘आज सम्मानित अदालतप्रति इज्जत गर्दै, अदालतको स्वतन्त्रतामाथि अलिकति पनि आँच नपुग्ने कुरातर्फ सचेत रहँदै आग्रह गर्न चाहन्छु’, थापाले भने, ‘श्रीमान्! डा गोविन्द केसीलाई मानहानि लाग्छ भने हामी सबैलाई पनि त्यो मानहानि लागोस्।’
यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले केसीलाई गिरफ्तार गरिरहनु जरुरी नभएको बताएका छन्। समग्र स्वास्थ्य शिक्षा क्षेत्रको सुधारमा लागिरहेका केसीको मनसाय अदालतको मानहानि गर्ने भएको उनले बताए। 'अदालतले आफ्नो प्रतिष्ठा कायम गरिराख्न उनको कदमले सहयोग नै पुर्याउँछ,' उनले भने, 'उहाँ अनसनमै हुनुहुन्थ्यो। त्यस्तो अवस्थामा पक्राउ गरेर लगिएको छ। तत्काल रिहाई गर्न म माग गर्दछु।'
कार्यक्रममा सहभागी विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले डा गोविन्द केसीको गिरफ्तारी निन्दनीय भएको र तत्काल रिहा गर्नुपर्ने बताए। ‘जो ३ करोड नेपालीको स्वास्थ्य सेवाको लागि निरन्तर संघर्ष गरिरहनुभएको छ, जसको कुनै व्यक्तिगत स्वार्थ छैन’, उनले भने, ‘त्यस्ता व्यक्तिलाई रातारात हठात गिरफ्तार गरियो, त्यो अत्यन्त निन्दनीय छ।’
मिश्रले न्यायालय, कर्मचारीतन्त्र र देशका हरेक स्वतन्त्र रहनुपर्ने निकायहरु राजनीतिकरण गरिनुको परिणामले अहिलेको अवस्था आएको समेत ठोकुवा गरे। भने, ‘त्यसकारण यो घटनालाई समग्र रुपले हेर्नुपर्दछ।’
‘उनलाई रिहा गरेर उनले जुन किसिमका गम्भीर आरोप लगाएका छन्, त्यसको छानबिन हुनैपर्छ। किनभने हामी सबैलाई थाहा छ, नेपालमा न्यायालयदेखि लिएर हरेक संस्थामा राजनीतिकरण भएको छ’, मिश्रले भने।
उनले डा केसीले लगाएको आरोपलाई मानहानिको रुपमा मात्रै नहेरी मनशाय समेत हेर्नुपर्ने बताए। भने, ‘उहाँको मनशाय भनेको ३ करोड नेपालीको स्वास्थ्य सेवामा सुधार हुनुपर्छ भन्ने हो।’
अपराधीलाई जस्तै हठात गिरफ्तार गर्ने अधिकार सरकारलाई नभएको भन्दै मिश्रले त्यसको सबैले विरोध गर्नुपर्ने बताए।
त्यस्तै, गोविन्द केसीका पक्षमा निरन्तर अभियान चलाइरहेका अभियन्ता डा अभिषेकराज सिंहले सर्वोच्च अदालतमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने बताए। ‘अब एउटामात्रै गोविन्द केसी होइन’, उनले भने, ‘गाउँगाउँमा गोविन्द केसीहरु उठ्नुपर्छ।’
चार वर्षअघि डा केसीकै अनशनको बलमा बर्खास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्बहाली गरेपछि डा केसीले त्यसको विरोध गर्दै सोमबार दिउँसोदेखि अनशन सुरु गरेका थिए। केसीले सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेका थिए।
तर अदालतले सोमबार नै अदालतको अवहेलना गरेको भन्दै उनलाई पक्राउ गरेर मंगलबार ९ बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। प्रहरीले सोमबार बेलुका ८ बजे उनलाई अनशन स्थलबाटै गिरफ्तार गरेको थियो। प्रहरी हिरासतमा समेत डा केसीले अनशन जारी राखेका थिए।
डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को अगुवाइमा आज बिहान ८ बजेदेखि प्रदर्शन भएको हो। प्रदर्शनमा नयाँ पार्टी पार्टीका संयोजक डा बाबुराम भट्टराई, मुमाराम खनाल समर्थकहरुले डा केसी एक्लो छैन, हामी तिम्रो साथ छौं, म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर, जिकेसीलाई कष्ट, माफियालाई अनिष्ट, सर्वोच्चलाई सम्मान, भ्रष्टलाई दण्ड लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए।