काठमाडौं– अदालतको अवहेलना मुद्दामा बिहान साढे ८ बजे नै डा गोविन्द केसीलाई सर्वाेच्च अदालतमा उपस्थित गराइए पनि ११ बजेसम्म उनको बयान सुरु हुन सकेको छैन। डा केसीले स्वास्थ्यमा असहजता महसुस गरेपछि उनलाई एम्बुलेन्समा राखिएको छ।
सामान्यतया १० बजे नै इजलाश सुरु हुनेमा आज सवा ११ बज्दा पनि इजलाश सुरु हुन नसकेको हो। इजलाश सञ्चालनका लागि दुई पटक सर्वाेच्चमा फुलकोट बसिसकेको छ।
डा केसीलाई प्रहरीको एम्बुलेन्समै राखेर सर्वाेच्च अदालतमा पुर्याइएको थियो। उनलाई अहिले सर्वाेच्च परिसरमै एम्बुलेन्समा राखिएको छ। केही समयपछि उनको बयानको तयारी सर्वाेच्चको छ। त्यसपछि उनको मुद्दामा बसह सुरु हुनेछ।
आईओएमको डिन नियुक्तिसम्बन्धी फैसलामा केसीले दिएको प्रतिक्रियाले अदालतको अवहेलना गरेको भन्दै उनलाई सर्वाेच्चको आदेशमा सोमबार प्रहरीले पक्राउ गरेको थियो।
सर्वाेच्चमा उच्च सुरक्षा सर्तकता
डा केसीलाई अदालतमा उपस्थित गराएपछि सर्वाेच्च अदालत परिसरभित्र र बाहिर उच्च सुरक्षा सर्तकता अपनाइएको छ। अदालत आसपासमा ठुलो संख्यामा प्रहरी खटाइएको छ। अदालत बाहिर सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ। सर्वाेच्चमा प्रवेशमा समेत सामान्य दिनमा भन्दा कडाइ गरिएको छ।