काठमाडौं- अदालत अवहेलनाको मुद्दामा पक्राउ परेर सर्वोच्च अदालत उपस्थित गराइएका डा गोविन्द केसीको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा राखिएको छ।
आज डा केसीको बयान लिए पनि बहस भने हुन सकेन। डा केसीलाई आज थुनामै राखिने भएको छ।
डा केसीले अदालतमा बयानका क्रममा न्यायालयकाे अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको भन्दै आफ्नो लडाइँ न्यायलयको भ्रष्ट नेतृत्व र न्यायाधीश विरुद्ध भएको बताएका थिए।
उनले बयानमा भनेका थिए, 'प्रधानन्यायाधीश गाेपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरे, त्यस विरुद्ध मेराे लडाइँ हाे। मैले विज्ञप्ति मार्फत न्यायालयकाे अालाेचना गरेकै छैन। भ्रष्टाचार विरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियाे? अदालतकाे भ्रष्ट प्रवृत्तिविरुद्ध मेराे लडाइँ हाे, म त्यसमा अडिग छु।'
सर्वोच्चले आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डीन पुनर्वहाली गर्न आदेश दिएपछि डा केसीले त्यस विरुद्ध अभिव्यक्ति दिएका थिए। न्याय किनबेच भएको भन्दै प्रधानन्यायाधीशको राजीनामा मागसहित केसीले सोमबार ४ बजेदेखि अनसन समेत थालेका थिए।
त्यसै क्रममा डा केसीले अदालतको मानहानि गरेको भन्दै सर्वोच्चले उपस्थित गराउन आदेश दिएपछि प्रहरीले सोमबार राति नै पक्राउ गरेको थियो।
यो पनि पढौं :