काठमाडौं– मंगलबार सर्वाेच्च अदालतमा बयान नसकिएपछि वीर अस्पताल लगिएका डा गोविन्द केसी अस्पतालमै अनसनमै सुरु गरेका छन्। स्वास्थ्य अवस्था बिग्रदै गएपछि प्रहरीले उनलाई हिरासतमा नराखी अस्पतालमा लगेको हो।
वीर अस्पतालको क्याबिनमा रहेका केसीले सोमबार दिउसोदेखि केही खाएका छैनन्। अस्पतालमै आफ्नो अनसन जारी रहेको उनले बताएका छन्। प्रहरीले केही खानेबारे जिज्ञासा राखेकोमा उनले आफ्नो अनसन जारी रहेको जवाफ दिएका छन्।
अदालतको अपहेलना मुद्दामा पक्राउ परेका केसीसँग सर्वाेच्च अदालतले मंगलबार बयान लिएको थियो। तर, उनको मुद्दामा थुनछेक बहस सुरु भएन। बुधबार उपस्थित गराउन भन्दै सर्वाेच्चले उनलाई प्रहरीमै पठाएको हो।
सोमबार उनलाई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको थियो। मंगलबार भने अदालतबाट उनलाई सिधैं अस्पताल पुर्याइएको छ।
अस्पतालमा सुरक्षा अवस्था कडा बनाइएको छ। डा.केसीको सुरक्षाका लागि इन्सपेक्टर सुनजीत तामाङको कमाण्डमा प्रहरी खटाइएको छ।
चिकित्सा शास्त्र अध्धयन सस्थान(आईओएम)को डिन नियुक्तिसम्बन्धि फैसलामाथि डा केसीले दिएको अभिव्यक्तिलाई लिएर सोमबार सर्वाेच्चमा अपहेलना मुद्दा दायर भएको थियो। लगत्तै सर्वाेच्चले उनलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिएको थियो। सोमबार बेलुका नै उनलाई प्रहरीले शिक्षण अस्पतालस्थित अनशनस्थलबाटै पक्राउ गरेको थियो।
बुधबार अस्पतालबाटै उनलाई अदालत पुर्याउने प्रहरी तयारी छ। उता, बुधबार पनि केसीको पक्षमा माइतीघरमा प्रदर्शन गर्ने तयारी भइरहेका छ।