जाजरकोट- झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन।
भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो। बिरामी गाउँमा भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन। एकै घरमा चारभन्दा बढी बिरामी हुनुका साथै जिल्लाबाट पाएको औषधिले काम नगर्दा मंगलबार सुईबाट दिइने औषधि लिएर थप पाँच जना डाक्टरको टोली जुनीचाँदे गाउँपालिकातिर लागेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए।
भाइरल प्रभावित क्षेत्रमा सक्रिय चिकित्सक डा पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्वरो र पखालाको कारण ज्यान गएको छ भने सोमबार जुनीचाँदे गाउँपालिका–२ मौगानका दुई महिनाका शिशुको भाइरलका कारण मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या १२ पुगेको छ।
नमूना जाँचका लागि काठमाडौं पठाइयो
सोमबार मृत्यु भएका शिशुलाई कडा खालको भाइरल अर्थात् 'एचवानएनवान'को शंका लागेकाले खकार र सिँगान परीक्षणका लागि रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौंको प्रयोगशालामा पठाइएको उपचारमा खटिएका डा शाक्यले जानकारी दिए।
परीक्षणबाट एचवानएनवान प्रमाणित भए गाउँमा भाइरलको महामारीको नै हुनसक्ने डा शाक्यले बताए। जुनीचाँदे गाउँपालिकाको वडा नम्बर १, २ र ३ का बस्तीमा भाइरल फैलिएको छ। पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीलाई भाइरलले रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पखाला लाग्नेजस्ता लक्षण देखिएको छ।
नियन्त्रणमा हुन नसक्दा थप स्वास्थ्यकर्मी पठाइयो
भाइरल प्रभावित गाउँमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटबाट परिचालित चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा ल्याउन नसकेपछि मंगलबार फेरि जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ।
एकजना चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी, नेपाली सेनाका स्वास्थ्यकर्मीको टोलीले उपचारमा सहयोग गर्दा पनि प्रकोप नियन्त्रणमा आउन नसकेपछि जिल्ला अस्पताल, जाजरकोटका मेडिकल अधिकृत डा भूपेन्द्रप्रकाश मल्ल, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकसहित अन्य स्वास्थ्यकर्मीको समूह औषधिसहित प्रभावित क्षेत्रमा हिँडेको जिल्ला स्वास्थ्य प्रमुख नेपालीले जानकारी दिए।
अन्य ठाउँमा सर्दैछ भाइरल
उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार जिल्लाको दुर्गम तथा विकट जुनीचाँदे गाउँपालिकाको वडा नम्बर २ र ३ मा सुरुमा देखिएको भाइरलको प्रकोप अहिले अन्य क्षेत्रमा पनि सर्दै गएको छ।
स्वास्थ्यकर्मीका अनुसार अहिलेसम्म ७ सयभन्दा बढीको उपचार गरिसकिएको छ र अझै २ हजारभन्दा बढी बिरामीको उपचार गर्न बाँकी छ। गाउँगाउँमा जान नसकिएका कारण र सामान्य खालको औषधिले काम नगर्दा उपचारमा चुनौती थपिएको स्वास्थ्य प्रमुख नेपालीले बताए।
भाइरल प्रभावित क्षेत्रमा रहेका अधिकांश विद्यालय बन्द छन्। चिसोका कारण उपचारमा समस्या थपिएको डा शाक्यले बताए। एक गाउँबाट अर्को गाउँमा जाँदा घन्टौं लाग्ने भएकाले उपचारमा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्। स्थानीयबासीलाई खानपानमा समेत ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।