काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओली नियमित स्वास्थ्य जाँचका लागि आज बैंकक उडेका छन्। बैंकक उड्नुअघि आज त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले डा गोविन्द केसीप्रति पनि टिप्पणी गरेका छन्।
डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनसनमा बसेको र अपहेलना मुद्धामा बयान चलिरहेको विषयप्रति लक्षित गर्दै ओलीले टिप्पणी गरेका हुन्। उनले निर्वाचन आयोगले देखाएको कानुनी जटिलताका विषयलाई डा केसीप्रति लगेर जोडेका हुन्।
कानुनी जटिलता देखाएर प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेकोमा उनले आयोगप्रति आक्रोश व्यक्त गर्दै गोविन्द केसीको नाम जोडेका छन्।
‘निर्वाचन आयोगले कानुनी जटिलता देखाएर सरकार गठनको बाटो अवरुद्ध पारेको छ,’ उनले भने, ‘कानुनबारे केही अलमल भए डा गोविन्द केसीसँग बुझे हुन्छ। उहाँ हिजोआज अदालतसँगै भिडिरहनुभएको छ। अहिले उहाँले धेरै कुरा भटाभट भनिरहनुभएको छ।’
थाई एयरवेजको नियमित उडानबाट ओली बैंकक गएका हुन्। मिर्गौला प्रत्यारोपणपछि नियमित स्वास्थ्य जाँचका लागि उनी बैंकक जाने गरेका छन्। उनले त्यहाँको बमरुङगार्ड अस्पतालमा उपचार गराउनेछन्।