जुम्ला– दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसकेपछि विशेषज्ञ सहितको टोली खटिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बालरोग विशेषज्ञ डा नम्रता सिन्दान र मेडिकल अधिकृत सूर्य चौधरीलाई महामारी प्रभावित क्षेत्रमा खटाएको हो।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आग्रहमा चिकित्सकको टोली खटाइएको अस्पताल निर्देशक धर्मराज गोसाईले जानकारी दिए। उनका अनुसार टोली बुधबार जाजरकोट प्रस्थान गरिसकेको छ। 'दुई हप्ता बस्नेगरी खटाएका छौं,' अस्पताल निर्देशक गोसाईले भने,'प्रकोप नियन्त्रण नहुन्जेलसम्म चिकित्सक सहितको टोली फर्कनेछैन।'
कर्णालीका रोग प्रभावित क्षेत्रमा पछिल्लो समयमा चिकित्सक पठाउन थालिएको हो। रोग, भोग, र अभावको सिकार मानिने कर्णाली विशेषज्ञ चिकित्सक पठाउने थलो बनेकोको स्थानीय खुसी भएको गोसाई बताउँछन्।
टोली जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको सम्पर्कमा जाने र जता आवश्यक पर्यो उतै खटिएर बिरामीको उपचारमा लाग्ने प्रतिष्ठानले जनाएको छ। योसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु र कालिकोटमा विशेषज्ञ सेवा सुरु गर्ने भएको छ। कालिकोटमा महिनाको दुई पटक र मुगुमा एक पटक विशेषज्ञ टोलीले बिरामी चेकजाँच र औषधि उपचार गर्ने निर्णय भएको अस्पताल निर्देशक गोसाईले जानकारी दिए।
उनका अनुसार विशेषज्ञ सेवा सञ्चालनका लागि दुई वटै जिल्लाका स्वास्थ्य कार्यालयमा कार्यतालिका सहित पत्राचार भइसकेको छ। पिछडिएको पहिलेको ९ जिल्ला र हालको १३ जिल्लामा सेवा विस्तार गर्ने तयारीका साथ कालिकोट र मुगुमा सेवा विस्तार भएको हो।
'प्रत्येक अस्पतालसँग सुझाव माग्छौं,' गोसाईले भने, 'आवश्यकता अनुसार सेवा विस्तार गर्दै लैजानेछौं।'
अहिले जुम्ला अस्पतालबाट हाडजोर्नी,एनेस्थेसिया,मेडिसिन, अर्थो, एमडिजीपि, गाइनो, बालरोग विशेषज्ञ र जनरल सर्जन लगायतका सेवा प्रदान हुँदै आएको छ। यी सबै सेवालाई क्रमबद्ध रुपमा दुई वटै जिल्लामा विस्तार गरिने तयारी थालिएको छ।