काठमाडौं– संघीय संरचना अनुसार प्रदेशमा रहने स्वास्थ्य मन्त्रालयमा तत्कालका लागि कुल १ सय ४० कर्मचारी खटाउन लागिएको छ। सामान्य प्रशासन मन्त्रालयले चौथोदेखि ११औं तहका १ सय ४० कर्मचारीको नामावली पठाउन स्वास्थ्यलाई पत्र काटेको थियो।
सामान्यको पत्रपछि स्वास्थ्य मन्त्रालयले इच्छुक कर्मचारीसँग निवेदन माग गरेको थियो। जसअनुसार मन्त्रालयमा आएर सोझै निवेदन दिने र इमेलमार्फत आएका निवेदनको आधारमा प्रदेश स्वास्थ्य मन्त्रालयमा जान ९ सय ६८ ले निवेदन दिएका थिए। यो संख्या मागभन्दा ६ सय ९२ प्रतिशत बढी हो।
मन्त्रालयले मागभन्दा झण्डै ७ सय प्रतिशत बढीको निवेदन आएपछि कर्मचारी छनोटका लागि निश्चित मापदण्ड बनाएर कर्मचारीको अन्तिम सूचि तयार पारिरहेको छ। मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार कुनैपनि विवाद नआउने गरी अन्तिम नामावली तयार पारी सामान्यमा पठाउने तयारी भएको छ।
सामान्यले ७ प्रदेश मध्ये ४ प्रदेशमा स्वास्थ्यका र बाँकी ३ प्रदेशमा शिक्षा मन्त्रालयका सचिव राख्न नामावली माग गरेको थियो। प्रदेशमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहनेछ। यसअघि फरक मन्त्रालय रहेका शिक्षा र स्वास्थ्य अब एउटै मन्त्रालयमा गाभिएको हो। सचिव पदका लागि पनि मन्त्रालय र इमेलमार्फत आवेदन परेको छ।
सामान्यले प्रदेश कार्यालयका लागि तत्काल ११औं तहका ७ जना, दशौं र नवौं तहका ३५ जना, आठौं तहका ६३ र छैटौं, पाँचौं र चौथो तहका ३५ जना गरी कुल १ सय ४० जना कर्मचारीको नाम पठाउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।
कुल निवेदनमध्ये सबैभन्दा बढी प्रदेश ३ मा परेको छ भने प्रदेश ४ मा सबैभन्दा कम निवेदन परेको छ।
कुन प्रदेशमा जान कतिको निवेदन ?
प्रदेश १ : १०५
प्रदेश २ : २२९
प्रदेश ३ : २५९
प्रदेश ४ : ७३
प्रदेश ५ : ८८
प्रदेश ६ : ११४
प्रदेश ७ : १०७
जम्मा संख्या : ९६८