काठमाडौं- डा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको बताएका छन्।
'पराजुलीको आधारभूत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ,' बिहीबार एक विज्ञप्ति जारी गर्दै डा केसीले भनेका छन्।
कतिपय मागहरु अहिलेसम्म सम्बोधन नभएको उल्लेख गर्दै केसीले सबै मागहरु पूरा नहोउन्जेल आफ्नो सत्याग्रह जारी रहने अडान दोहोर्याएका छन्।
विज्ञप्तिको पूर्णपाठ
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियान अन्तर्गत म सत्याग्रहमा रहेको कुरा विदितै छ ।
म माथि सत्याग्रहको क्रममा अदालतको अवहेलना सम्बन्धी मुद्दा लगाई मलाई गिरफ्तार गरी अदालतमा उपस्थित गराइ बयान गराइएको र मुद्दाको कारवाही शुरु गरिएको पनि विदितै छ । अदालतमा बयान गर्ने क्रममा प्रधान न्यायधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रमाणपत्रहरु छानविन गरिनु पर्दछ र छानविन गरियोस् भनी मैले गरेको निवेदनलाई सम्मानित इजलासले सकारात्मक रुपमा लिई मिति २०७४ पुष २६ गते आदेश हुँदा निम्नबमोजिम आदेश भएको छ ।
१. सम्माननीय प्रधानन्यायधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत झिकाउनु ।
२. निवेदक प्रा डा शशी शर्मा विपक्षी त्रिवि कुलपति तथा सम्माननीय प्रधानमन्त्री समेत भएको ०७०–WO–०५७१को मुद्धामा मिति २०७४।९।२३ को फैसलासहितको मिसिल झिकाइ साथै राख्नु ।
मेरो अदालतप्रतिको सम्मान र निष्ठा सधैं उँच्चो छ र पौष २६ मा भएको उक्त आदेशले मैले प्रधान न्यायधीश गोपाल पराजुलीको सम्बन्धमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिएर अदालतले निज प्रधान न्यायधीशलाई न्यायिक छानविनको दायरामा राखेको न्यायिक आदेशको म प्रशंसा गर्दछु । र न्यायिक छानविनपश्चात सत्य र तथ्यगत रुपमा निर्णय हुने कुरामा म विश्वस्त छु । निज पराजुलीको आधारभुत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानविन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ । निज पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रुपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने देखिन्छ । त्यसैले हामीले पौष २४ गतेको प्रेस विज्ञप्तिमार्फत् गोपाल पराजुलीको राजीनामा माग गरेकोमा अब न्यायालयभित्रकै न्यायिक प्रक्रियाले त्यो मागलाई पुष्टि गरेको छ ।
त्यसबाहेक हामीले यस सत्याग्रहका क्रममा राखेका मागहरुमध्ये बाँकी बुँदाहरु अहिलेसम्म सम्बोधन भएका छैनन् । त्यसैले उक्त मागहरु पूरा नहोउन्जेल हाम्रो सत्याग्रह जारी रहने कुरा जानकारी गराउन चाहन्छौं ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज