नेपालगन्ज– पश्चिम नेपालका सरकारी अस्पतालमध्ये सबैभन्दा ठूलो अस्पतालका रुपमा रहेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा मात्रै मुटुरोगको उपचार सेवा उपलब्ध छ।
भेरी अञ्चल अस्पतालमा मुटुरोग विशेषज्ञ डा कृष्णप्रसाद अधिकारीले मुटुरोग सम्बन्धी उपचार सेवा दिँदै आएका छन्।
तर, मुटुरोगको उपचारका लागि अत्यावश्यक पर्ने मुटुको भिडियो एक्सरे गर्ने मेसिन (इको मेसिन) ४ महिनादेखि बिग्रिएर थन्किएको छ।
इको मेसिन समयमै मर्मत गरेर सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनले ध्यान नदिँदा बिरामीहरु चर्काे मूल्य तिरेर निजी स्वास्थ्य संस्थाहरुमा गएर इको गराउन वाध्य छन्। भेरीमा ८ सय ५० मा हुने इको जाँचको शुल्क निजी स्वास्थ्य संस्थाले २ हजार १ सय रुपैयाँ लिने गरेका छन्।
करिब ८० लाखमा नेपाल सरकारले खरिद गरेर भेरी अञ्चल अस्पताललाई उक्त इको मेसिन उपलब्ध गराएको थियो।
बिग्रिएको इको मेसिन मर्मत सम्हारको प्रक्रियासम्म सुरु नगरी अस्पतालका प्रमुख डा विरेन्द्रबहादुर चन्द तीन हप्ताका लागि विदेश गएका छन्। उनी फर्किएर प्रक्रिया पूरा गर्दा समेत मेसिन मर्मत भई सञ्चालन आउन डेढदेखि २ महिनासम्म लाग्ने देखिएको छ।
त्यसैगरी, अस्पतालले डेढ वर्षपहिले १३ लाख रुपैयाँमा खरिद गरेको टिएमटी मेसिनले सुरुकै दिनदेखि काम गरेको छैन। त्यसलाई सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनले ध्यान नदिँदा टिएमटी मेसिन त्यसै थन्किएको छ। जसका कारण सरकारको लाखौंको लगानी हुँदा समेत बिरामीले सेवा पाउन सकेका छैनन्।
अस्पतालले मुटु रोगको उपचार सेवा सुरु गरेपछि मुटुरोग सम्बन्धी समस्या लिएर उपचारका लागि दैनिक ५० जनासम्म बिरामी आउने गरेका छन्।
भेरी अञ्चल अस्पतालले कार्डियोलोजीको ओपिडि सञ्चालन गरेर मुटु रोगको उपचार सेवा सुरु गरेपछि पश्चिम नेपालका बिरामी लाभान्वित भएका छन्।