राजविराज– दरबन्दी अनुसार विशेषज्ञ डाक्टर नहुँदा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा प्रभावित भएको छ। दुई तिहाइभन्दा बढी डाक्टरको पद रिक्त हुँदा सामान्य बिरामीले पनि उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था छ।
मेडिकल सुपरिटेन्डेन्टसहित १९ विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा अधिकांश डाक्टरको पद रिक्त छ। अस्पतालमा ६ जना विशेषज्ञ डाक्टर कार्यरत छन्।
डाक्टरको अभावमा बिरामीहरुलाई समयमा उपचार गर्न नसकिँदा अस्पताल रेफरल सेन्टर बन्दै गएको मेडिकल सुपरिटेन्डेन्ट डा दयाशंकर लाल कर्ण स्विकार्छन्। वर्षौंदेखि विभिन्न विशेषज्ञसहित १ दर्जनभन्दा बढी डाक्टरको पदपूर्ति नहुँदा उपचार सेवा प्रभावित भएको डा कर्णको भनाइ छ।
दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने अञ्चल अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ लगायतको पद रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ। ९औं तहका २÷२ जना स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फिजिसियनको पद पनि रिक्त छ।
यस्तै, छालारोग विशेषज्ञ, प्याथोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, कन्सलटेन्ट सर्जन, अर्थोपेडिक सर्जन, साइकियाट्रिस्ट, जनरल फिजिसियन, रेडियोलोजिस्ट, अस्पताल 4 प्रशासक २ जना, मेडिकल अधिकृत ४ जना लगायतको पद पनि रिक्त रहेको डा कर्ण बताउँछन्।
हाल अस्पतालमा ११औं तहका मेसु कर्ण, ९औं तहका डा टेकनारायण मण्डल र डा रञ्जित झा, ८औं तहका डा दीपा यादव र उषा देव मात्र कार्यरत छन्।
विशेषज्ञ डाक्टर नहुँदा अस्पतालको सेवा विस्तारका लागि उपलब्ध गराइएका करोडौं लागतका उपकरण समेत त्यसै थन्किएर वसेका छन्। तर, यसतर्फ सरकोरवाला निकायको ध्यान पुगेको छैन।
अस्पतालको सेवा विस्तारका लागि उपलब्ध गराइएको अल्ट्रासाउन्ड, एनेस्थेसियाका लागि प्रयोग हुने उपकरण, अटोमेटिक ल्याव, होराइजेन्टल एक्स–रे मेसिन, अक्सिजन मेसिन र डाइलाइसिस मेसिन जस्ता अत्याधुनिक उपकरण हालसम्म सञ्चालनमा आउन नसकेको मेसु कर्णले जानकारी दिए।
अस्पतालका लागि १ वर्षअघि नै स्वास्थ्य मन्त्रालयबाट २ करोड २४ लाख बराबरको तथा स्वास्थ्य विभागबाट समेत थप अत्याधुनिक उपकरण खरिद गरिएको छ। तर, ती सबै उपकरण विशेषज्ञ डा अभावमा प्रयोगविहीन भएको उनले गुनासो गरे।
‘एकातर्फ भएको साधन स्रोत अलपत्र छ’, उनले भने, ‘अर्कोतर्फ सर्वसाधारणले अन्यत्र कष्ट खेप्दै गएर महँगो सुविधा लिनु परिरहेको छ।’
अस्पतालमा विशेषज्ञ चिकित्सक तथा विभिन्न सेवाको अभावपछि जटिल प्रकृतिका बिरामी उपचारका लागि धरान, विराटनगर तथा भारतको दरभंगा लगायत ठाउँमा जान बाध्य छन्।
सर्वसाधारण तथा बिरामीको सहजताका लागि सरकार र सम्बन्धित निकायले तत्काल विशेषज्ञ डा पठाउनुपर्ने स्थानीयवासीले माग गरेका छन्।