काठमाडौं- कर्मचारीको आन्दोलनका कारण एक महिनादेखि बन्द ललितपुरस्थित किस्ट मेडिकल कलेज मंगलबारबाट खुलेको छ।
उच्च अदालत पाटनको अन्तरिम आदेश अनुसार मेडिकल कलेज खुलेसँगै आन्दोलनरत कर्मचारीहरु काममा फर्किएका छन्।
आन्दोलनकारी कर्मचारीका तर्फबाट वार्ता कमिटी संयोजक उमेश बर्तौलाले अब कानुनी लडाइँबाटै आफूहरुको माग पूरा गराउने बताएका छन्।
कर्मचारीहरुले तलब वृद्धि, मेडिकल कलेजको अस्पतालमा उपचारमा छुट लगायतका १५ बुँदे माग गर्दै मंसिर ३० देखि आन्दोलन गरेका थिए। आन्दोलनकारीका माग पूरा गर्न नसकिने र सहमतिको संकेत नदेखिएको भन्दै मेडिकल कलेज व्यवस्थापनले उच्च अदालतमा रिट दायर गरेको थियो।
रिटमाथि सुनुवाइ गर्दै अदालतले अत्यावश्यकीय सेवामा बन्द-हडताल गर्न नपाइने सर्वोच्च अदालतको नजिरका आधारमा अस्पताल तत्काल खोल्न आइतबार अन्तरिम आदेश जारी गरेको थियो।