काठमाडौं– नेपालमा क्यान्सर रोग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। काठमाडौंको याक एन्ड यती होटलमा बिहीबारदेखि शनिबारसम्म सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल अबुर्द रोग निवारण संस्थाले जनाएको छ।
विकासोन्मुख देशहरुमा क्यान्सर बढ्दो क्रममा रहेको कुरालाई ध्यानमा राखी सम्मेलनमा ‘चुनौति: विकासोन्मुख देशमा क्यान्सको रोकथाम’ भन्ने विषयमा केन्द्रित रहेर छलफल हुने सम्मेलन आयोजक समितिका प्रमुख डा राजेन्द्रप्रसाद बरालले जानकारी दिए।
नेपाल सरकार स्वास्थ्य मान्त्रालय, युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल र क्यान्सर काउन्सिल अस्ट्रेलियासँगको सहकार्यमा सम्मेलन हुन लागेको हो। सम्मेलनमा भाग लिन क्यान्सर रोगको सबैभन्दा ठूलो अन्तर्राष्टिय संस्था युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोलका अध्यक्ष प्रोफेसर सान्चिया अरान्ड नेपाल आउँदैछन्।
सम्मेलनमा भारत, श्रीलंका, म्यानमार, मलेसिया, बंगालादेश, दक्षिण कोरिया, बेलायत, मंगोलिया, ताइवना लगायत १५ भन्दा बढी देशका २ सय ५० जना अनुसन्धानकर्ता, क्यान्सर विरुद्धका अभियन्ता, डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी सहभागी हुने डा बरालले जनाए।
सम्मेलनमा क्यान्सर विज्ञद्वारा क्यान्सर सम्बन्धी विविध विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै छलफल चल्नेछ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ।