काठमाडौं– स्वास्थ्य मन्त्री दीपक बोहराले गैरकानुनी रुपमा स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक नियुक्त गरेपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतका महाशाखाका निर्देशकहरु सेवाबाट राजीनामा दिने अवस्थामा पुगेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्य र बाल स्वास्थ्य महाशाखाका निर्देशक डा विकाश लामिछानेले राजीनामा दिनेबारे सोच्न वाध्य भएको बताएका छन्।
‘सधैं नियम मिचेर जाने हो भने हाम्रो बढुवाको के अर्थ रह्यो?’ डा आचार्यले भने, ‘यसरी कुन मुडमा काम गर्ने?’
बाल स्वास्थ्य महाशाखाका निर्देशक डा लामिछानेले पदलाई सधैं मोलमोलाई गरे जागिर खानुको अर्थ नरहेको बताएका छन्। ‘मन्त्रालयमा सेवा समूह छ, सबैको आफ्नो समूहमा विज्ञता हुन्छ,’ डा लामिछानेले भने, ‘सधैं नियम कानुन मिच्दै गए हामी कुन नैतिकताले काम गर्ने?’
स्वास्थ्य मन्त्री बोहोराले आर्थिक चलखेलका आधारमा कनिष्ठलाई निमित्त महानिर्देशक नियुक्त गरेपछि मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत वरिष्ठ चिकित्सकहरु चिढिँएका हुन्। स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा पदमबहादुर चन्दले १२औं तहका कर्मचारी र विभागमा पनि वरिष्ठ कर्मचारी भएको अवस्थामा नियम मिचेर कनिष्ठलाई जिम्मेवारी दिँदा कर्मचारीको मनोबल घट्ने बताए। ‘मन्त्रालयमा सधैं नियम मिच्ने कार्यले स्वास्थ्य सेवा प्रवाहमै असर पर्न जान्छ,’ उनले भने।
मन्त्री बोहोराले पुस ३० मा ११औं तहका कनिष्ठ डा तारानाथ पौडेललाई विभागको निमित्त महानिर्देशकमा नियुक्त गरेका हुन्।
डा पौडेललाई नियुक्त गरेपछि मन्त्रीका सल्लाहकार डा यशोवर्धन प्रधानले असन्तुष्टि जनाई मन्त्रालय जान छाडेका छन् भने महानिर्देशकबाट तानिएका डा राजेन्द्र पन्तले सेवाबाटै राजीनामा दिएका छन्।
नियमअनुसार विभागको महानिर्देशकका लागि पहिलो प्रावधानमा १२औं तहको विशेषज्ञ चिकित्सक हुनुपर्नेछ। दोस्रोमा १२औं तहको चिकित्सक नभएको अवस्थामा ११औं तह भई ५ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान छ। दुवै अवस्थामा नियुक्तिका लागि कर्मचारी नभएपछि विभागमा पदस्थापना भएका कुनै कर्मचारीमध्ये जेष्ठताका आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिन सक्ने व्यवस्था छ। नवनियुक्त निमित्त महानिर्देशक डा पौडेल तीन वटै प्रावधानभित्र पर्दैनन्।
यो पनि पढौं :