काठमाडौं- देशकै जेठो वीर अस्पताल आधुनिक र सुविधा सम्पन्न बनाउने काम अगाडि बढेको छ। अस्पतालको आकस्मिक कक्ष अगाडि रहेको क्वार्टर र 4 भवन भत्काएर खाली बनाइएको स्थानमा ७ सय शय्याको नयाँ भवन बन्ने निश्चित भएको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भवन निर्माणका लागि बोलपत्र स्विकृत गरेको छ। न्याम्सको मंगलबार बसेको उपकुलपति स्तरिय निर्णयले सबैभन्दा कम रकम कबोल गर्ने ‘जेडआइइसी–शर्मा–रसुवा जेभी’लाई भवन निर्माण दिने निर्णय गरेको हो। यो कम्पनीले वीर अस्पतालको उक्त भवन निर्माणका लागि २ अर्ब ३४ लाख बहत्तर हजार नौ सय पन्चानब्बे रुपैयाँ कबोल गरेको छ। यो रकम मूल्य अभिबृद्धि कर बाहेकको हो।
बहुवर्षिय योजना अनुसार उक्त भवन निर्माणको काम अगाडि बढाइएको हो। भवन तीन वर्ष भित्रमा बनिसक्ने योजना छ। ९ तले उक्त भवनमा दुई तले भूमिगत पार्किङ हुनेछ । सर्जिकल भवन नाम दिइएको उक्त कम्प्लेक्समा १५ वटा मेजर शल्यकक्ष, २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वाए रहनेछन्। यसका साथै आधुनिक उपकरणहरु जस्तै पेटस्क्यान, एमआरआई, सिटीस्क्यान लगायतका सेवा समेत हुनेछ।


