काठमाडौं- करिब ११ वर्षअगाडि एमाले अध्यक्ष केपी ओलीले भारतको दिल्लीस्थित अपोलो अस्पतालमा दुवै मिर्गौला प्रत्यारोपण गरेका थिए। त्यसपछि निरन्तर उनी स्वास्थ्य परीक्षण गर्दै आइरहेका छन्। सुरुवाती समय भारतका अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने ओली पछिल्लो समय थाइल्यान्डको राजधानी बैंकक जाने गरेका छन्।
लामो चुनावी अभियान र एकपछि अर्को विकसित राजनीतिक घटनाक्रमले व्यस्त ओली निर्वाचन परिणाम सार्वजनिकलगत्तै केही अस्वस्थ देखिए। चुनावी चटारोले थलिएका उनी पुस २६ गते नियमित स्वास्थ परीक्षणका बैंकक गएका थिए। उपचार सकेर उनी बिहीबार स्वदेश फर्किएका छन्।
विभिन्न परीक्षणका क्रममा उनले बैंककमा निर्धारितभन्दा दुई दिन बढी समय बिताए। ‘विभिन्न परीक्षण गरिरहँदा समय लाग्यो,’ स्वदेश फर्किएपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘सोमबार आउने कार्यक्रम थियो, चेकअपका कारण दुई दिन थप भयो।’
उपचार नभई आफू नियमित स्वास्थ्य परीक्षणका गएको उनको भनाइ थियो।
‘सबै स्वास्थ्य परीक्षण सकिएको छ। अहिले स्वास्थ्य ठिक छ, परीक्षणको नतिजाले राम्रै रहेको बताएको छ,' उनले भने।
बैंककबाट स्वस्थ बनेर फर्किएका एमाले अध्यक्ष ओलीले अब माओवादीसँग गर्ने भनिएको पार्टी एकताको विषयमा महत्वपूर्ण निर्णय गर्नुपर्नेछ।
भिडियो