काठमाडौं– कानुन विपरीत सूर्य टोबाको कम्पनीले ३२ महिनादेखि चुरोट उत्पादन गर्दै आइरहेको छ। कानुन मिचेर उत्पादन गरिरहेको पाइएपछि स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रले उद्योग मन्त्रालयलाई पत्र पठाएको छ।
केन्द्रले सूर्य टोबाकोले नियम नमानेकाले नियम अनुसार आफ्नो उत्पादन बजारमा पठाउनुपर्ने कानुन पालना गराउन सहयोग गर्नु भन्दै उद्योग मन्त्रालयमा पत्र पठाएको हो। उद्योगहरु उद्योग मन्त्रालय अन्तर्गत रहने भएकाले केन्द्रले उद्योग मन्त्रालयमा सूर्य टोबाकोले कानुन विपरीत काम गरेको जानकारीसहितको पत्र पठाएको हो।
सरकारले सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र अङ्कित गर्नुपर्ने वाध्यकारी कानुन कार्यान्वयनमा ल्याएको छ। यसका लागि स्वास्थ्य मन्त्रालयले निर्देशिका नै जारी गरेको छ। मन्त्रालयले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ देखि निर्देशिका कार्यान्वयनमा ल्याएको थियो।
तर, सूर्य टोबाकोले हालसम्म पनि उक्त कानुन पालना गरेको छैन। सूर्यले ३२ महिनाअघि जारी भएको नियम विपरीत ७५ प्रतिशत भागमा मात्र चेतावनीमूलक सन्देश छाप्दै आइरहेको छ। ९० प्रतिशत चेतावनीमूलक सन्देश छाप्ने नियम अरु सबै उद्योगले कार्यान्वयनमा ल्याएका छन्। तर, सूर्यले भने पहुँच र दबाबका भरमा कानुनको उल्लंघन गर्दै आइरहेको छ।
सूर्यले पटक-पटकको सूचना अटेरी गरेपछि स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूर्य टोबाकोको नाम नै उल्लेख गरेर उद्योगमा पत्र पठाएको हो। निर्देशक बद्रीबहादुर खड्काको हस्ताक्षरमा पठाइएको पत्रमा ‘सूर्य टोबाको कम्पनीले पूर्ण रुपमा ऐन तथा निर्देशिकाको कार्यान्वयन नगरेको व्यहोरा बजार अनुगमन तथा विभिन्न सञ्चार माध्यमबाट बुझिन आएकाले निर्देशिका बमोजिम ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्न तथा अंकित गर्न लगाई कानुन कार्यान्वयनमा सहयोग गरिदिनुहुन अनुरोध छ।’
सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश राख्दा ती पदार्थको उपभोग गर्नेको सङ्ख्या घटेको अध्ययनले देखाएको छ।
एक्सन नेपालले गरेको एक अध्यन अनुसार सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्नेले अहिले पाँच वटा मात्र उपभोग गरिरहेका छन्।
11 सङ्गठन (डब्लुएचओ) का अनुसार नेपालमा बर्सेनि सूर्तीजन्य पदार्थका कारण वार्षिक १५ हजारको अकालमा मृत्यु हुने गर्छ। अधिकांशको सूर्तीजन्य पदार्थ सेवन गर्दा लाग्ने क्यान्सरकै कारण मृत्यु हुनेगर्छ। डब्लुएचओले नेपालजस्तो विकासोन्मुख देशमा प्रत्येक ६ जनामध्ये एकजना क्यान्सरका रोगी हुनसक्ने प्रक्षेपण गरेको छ।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा सूर्तीजन्य पदार्थका कारण उत्पन्न हुने रोग देखा परिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र अङ्कित गर्नुपर्ने प्रावधानलाई कडाइ गर्न आग्रह गरे।
विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था ‘द युनियन’को सिंगापुरस्थित उप क्षेत्रीय कार्यालयका उप–निर्देशक डा तारासिंह बमले कानुनको पालना नगर्ने संस्थालाई कारबाही गर्नुपर्ने बताए। ‘सरकारले ल्याएको कानुन वर्षौंसम्म नमान्ने संस्थालाई हदैसम्मको कारबाही हुनुपर्छ,’ उनले भने, ‘सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको चेतावनीमूलक सन्देश छाप्ने व्यवस्था कार्यान्वयनमा सरकारले निरन्तर अनुमगन गर्नुपर्छ।’
