नेपालगन्ज– एक सातादेखि ११बुँदे माग राखी देशभरि सुरु भएको नर्सहरुको आन्दोलनको प्रभाव नेपालगन्जमा पनि परेको छ। नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा आन्दोलनको कार्यक्रम अनुसार नर्सहरु ड्युटी छोडेर धर्नामा बसेका छन्।
नर्सहरु आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडानका साथ संघर्षमा उत्रिएपछि अस्पतालमा आउने बिरामी मर्कामा परेका छन्।
नर्सहरुले आन्दोलन चर्काउँदै ड्युटी नै छाडेपछि बिरामी भर्ना गर्न समेत समस्या परेको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पान्डे बताउँछन्। नर्सको सेवा प्रभावित भएपछि कतिपय बिरामीलाई अन्यत्र रिफर गर्ने गरिएको उनले जानकारी दिए।
एक हप्तादेखि जारी नर्सहरुको आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सरकारले ध्यान नदिँदा बिरामी तथा उनका आफन्त समस्यामा परेका हुन्। पश्चिमाञ्चलकै मुख्य अस्पतालका रुपमा रहेको भेरी अञ्चल अस्पतालमा नर्सहरुको आन्दोलनले बिरामीलाई असर परेको अस्पतालका निमित्त प्रमुख डा कृष्ण आचार्य बताउँछन्।

नर्सहरुको आन्दोलन चर्किएपछि भेरी अञ्चल अस्पतालका बेडमा बिरामीको संख्या घटेको छ
नर्सहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सहरुलाई बिनाशर्त पुनर्वहाली गर्नुपर्ने, 4 सेवा महाशाखा स्थापना हुनुपर्ने, सरकारले बनाएको नर्स बिरामीको अनुपात लागू हुनुपर्ने लगायत ११ बुँदे माग राखेर 4 संघले देशव्यापी आन्दोलन चर्काएको छ।