काठमाडौं– नेपालमा क्यान्सर रोग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले वातवरणीय प्रदुषण र विषदियुक्त खानाले नेपालमा क्यान्सर दिन प्रतिदिन बढ्दो रुपमा देखा परेको बताए। उनले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले क्यान्सरका नयाँ–नयाँ विधिबाट उपचारमा सहयोग पुर्याउने बताए।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री दीपक बोहोराले मन्त्रालयको तर्फबाट सहयोग निरन्तर रहने जानकारी गराए। उनले सुर्तीजन्य पदार्थको कर बढाउनुपर्ने बताए।
कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सुर्तीजन्य पदार्थ र असन्तुलित 18 र वातवणले क्यान्सर डरलाग्दो रुपमा देखापरेको भन्दै यसको रोकथामका लागि 18 परिवर्तन गर्नुपर्ने र कृषि प्रणाली बदल्नुपर्ने जनाए। उनले क्यान्सर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउँदै अन्तर्राष्ट्रिय सम्मेलनले क्यान्सर नियन्त्रणमा ठूलो सहयोग पुग्ने आशा व्यक्त गरे।
विकासोन्मुख देशमा क्यान्सर बढ्दो क्रममा रहेको कुरालाई ध्यानमा राखी सम्मेलनमा ‘चुनौति : विकासोन्मुख देशमा क्यान्सको रोकथाम’ भन्ने विषयमा केन्द्रित रहेर छलफल हुने आयोजक समितिका प्रमुख डा राजेन्द्रप्रसाद बरालले जानकारी दिए।
स्वास्थ्य मान्त्रालय, युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल र क्यान्सर काउन्सिल अस्ट्रेलियाको सहकार्यमा सम्मेलन सुरु भएको हो।
काठमाडौंको याक एन्ड यती होटलमा सुरु भएको सम्मेलन शनिबारसम्म चल्लनेछ। सम्मेलनमा अमेरिका, बेलायत, कम्बोडिया, स्पेन, भुटान, भारत, श्रीलंका, म्यानमार, मलेसिया, बंगलादेश, दक्षिण कोरिया, ताइवान, मंगोलिया लगायत देशका २ सय ५० जना अनुसन्धानकर्ता, क्यान्सर विरुद्धका अभियन्ता, डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीको सहभागिता छ।