काठमाडौं- प्राडा गोविन्द केसीले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन जगदीशप्रसाद अग्रवाललाई हटाउन चलखेल भइरहेको सूचना आफूले पाएको बताएका छन्।
सर्वोच्च अदालत र सरकारको निर्णय आइओएममा हाल कायम रहेका तथा वरिष्ठताका आधारमा नियुक्त डिनलाई हटाउन त्रिविका भ्रष्ट पदाधिकारीहरु नै लागिपरेको डा केसीले आज एक विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।
'ओपन हाउस काउन्सेलिङमार्फत मेरिटका आधारमा विद्यार्थी छानेर निजी मेडिकल कलेजमा पठाउने काम चलिरहेको बेला भइरहेको यस्तो चलखेल मेडिकल माफियालाई बल पुर्याउने प्रयास स्वरुप भइरहेको प्रस्ट छ,' विज्ञप्तिमा उल्लेख छ।
अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयसमेत लत्याएर नयाँ डिन वा कार्यवाहक डिन नियुक्त भएको खण्डमा तत्काल सशक्त प्रतिरोध गर्ने पनि डा केसीले चेतावनी दिएका छन्।
स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधार तथा सुशासनमा निरन्तर संघर्षरत रहँदै आएको जनाउँदै उनले 'मेडिकल माफियाका मतियारका रुपमा काम गरिरहेका त्रिवि पदाधिकारीहरुको बर्खास्ती, छानबिन र कारबाही'को माग सदैव उठिरहने समेत बताएका छन्।
केसीले रौतहटबाटै विज्ञप्ति जारी गरेका हुन्। उनी हाल शीतलहरबाट पीडित बनेका तराईवासीको उपचारमा खटिएका छन्।