जुम्ला- सामान्य रोगको संक्रमण हुँदा सुर्खेत, नेपालगन्जका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जानुको विकल्प नरहेको कर्णालीमा पछिल्लो समय पाठेघर खस्ने समस्य भएका महिलाको निःशुल्क शल्यक्रिया हुन थालेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको समझदारीमा पाठेघर खस्ने समस्या भएका महिलाको चेकजाँच र शल्यक्रिया निःशुल्क गर्न थालेको हो।
कर्णाली अस्पतालमै निःशुल्क उपचार गर्न पाउने खबरले गाउँका पीडित महिलाहरु हर्षित बनेका छन्। कर्णालीका पाँच जिल्ला र छिमेकी जाजरकोट जिल्लाका लागि निःशुल्क उपचार गर्ने सम्झौता भइसकेको अस्पताल निर्देशक धर्मराज गोसाईले जानकारी दिए। उनका अनुसार अब कर्णालीका महिलाले पाठेघर खस्ने समस्याका कारण अकालमा मृत्यु पर्खनुपर्ने छैन। पाठेघरको शल्यक्रियाका लागि महँगो रकम तिर्नुपर्ने पनि छैन।
पाठेघरमा समस्या भएका महिलाको उपचार हुन नसक्दा क्यान्सर लागेर मृत्यु हुनुपर्ने कर्णालीको वाध्यता छ। कतिपयले आर्थिक अभावका कारण रोगको उपचार गराउन सक्दैनन्। उपचार गराइहाले पनि सुविधा सम्पन्न अस्पतालसम्म पुग्न सक्दैनन्। अस्पताल निर्देशक गोसाईले भने, 'जुम्लामा पाठेघर खस्ने समस्य भएका महिलाको उपचार र शल्यक्रिया निःशुल्क सेवा सुरु भइसकेको छ। हालसम्म एक दर्जनभन्दा बढी महिलाले उपचार गराइसकेका छन्।'
असार मसान्तसम्म तोकिएको निःशुल्क सेवाका लागि पाठेघरको संक्रमण भएका बिरामी महिलालाई उपचारका लागि आउन सूचित गरिसकिएको छ। अस्पताल निर्देशक गोसाईले भने, 'यातायात खर्चसहित खान खर्च समेत उपलब्ध हुनेछ।'
पाठेघर शल्यक्रियाका लागि शिक्षण अस्पतालको टोली जुम्लासहित ५ वटै जिल्ला अस्पतालमा पुग्ने भएको छ। प्रत्येक जिल्लाका स्वास्थ्य कार्यालयलाई पाठेघर उपचार बारे जानकारी गराइसकेको निर्देशक गोसाईले बताए। उनले भने, 'कार्यतालिका बनाएर सम्बन्धित स्वास्थ्य कार्यालयमा पठाइसकेका छौं, जिल्ला अस्पतालले रोगको पहिचान गर्छ, विशेषज्ञ टोली गएर निःशुल्क उपचार गर्छ।'
उनका अनुसार न्यूनतम १ सय जना महिलाको पाठेघरको शल्याक्रिया गर्ने योजना छ। महिलाको पाठेघरको शल्यक्रियाका लागि न्यूनतम १५ देखि २० हजार रुपैयाँसम्म खर्च हुने उनले बताए।