काठमाडौं– स्वास्थ्य मन्त्रालयले विगत ८ महिनादेखि रेजिडेन्ट डाक्टरहरुको तलब नपठाएपछि उनीहरु आन्दोलित भएका छन् । उनीहरुले २४ घन्टे अल्टिमेटम दिँदै त्यसभित्र तलब नपाए इमर्जेन्सी बाहेकमा काम छाड्ने चेतावनी दिएका हुन् ।
नेपाल रेजिडेन्ट डक्टर्स एशोसियसन महाराजगञ्ज मेडिकल कलेजका अध्यक्ष डा केशव श्रेष्ठ बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउँछन् । उनी भन्छन्, ‘हामीले पटक–पटक अनुरोध गर्दा पनि ८ महिनासम्म तलब आएन । त्यसैले आन्दोलन घोषणा गरेका हौं ।’
स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विभिन्न मेडिकल कलेजमा विशेषज्ञ तहको पहिलो वर्षमा अध्ययनरत रेजिडेन्ट डाक्टरले तलब नपाएका हुन् । केही कलेजले आफ्नो स्रोतसाधनबाट तलब दिएपनि महाराजगञ्ज मेडिकल कलेज लगायतले दिन सकेका छैनन्।
शिक्षण अस्पताल महाराजगञ्ज निर्देशक डा दिपक महरा अस्पतालले नभइ कलेजले उक्त तलबको व्यवस्था गर्नुपर्ने बताउँछन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले कलेजलाई तलबको रकम उपलब्ध गराउनुपर्ने हो । तर, अहिलेसम्म आइपुगेको छैन ।’
समस्या कलेजको भएपनि आफूले समेत यसका लागि पहल गरिरहेको बताए । उनले भने, ‘हामीले स्वास्थ्य मन्त्रालयमा आज पनि मान्छे पठाएका छौं ।’
अर्थ मन्त्रालयले अख्तियारीमा ढिलाइ गरेकाले तलब रकम पठाउन ढिलो भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले बताए । उनले भने, ‘रोकिनुपर्ने कुनै कारण छैन । प्रक्रियामा ढिलाइ भएको हो । अर्थ मन्त्रालयले अख्तियारी दिइसकेकाले आजै कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई रकम निकासाको पत्र पठाउने तयारी गरिँदैछ ।’