नेपालगन्ज– पश्चिम नेपालको ठूलो सरकारी अस्पताल भेरी अञ्चल अस्पताल परिसरमा सरसफाइ अभियान थालिएको छ।
भेरी अञ्चल अस्पतालको ‘क्लिन एन्ड ग्रिन अभियान’ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्यकर्मीको संलग्नतामा शनिबार अस्पताल परिसरको सरसफाइ भएको हो।

झाडी तथा जथाभावी फ्याँकिएका प्लास्टिक, गुट्खा, सुर्ती, चुरोटका ठुटा र धुलोका कारण फोहोर देखिँदै आएको अस्पताल सरसफाइपछि चिटिक्क र सफा देखिएको छ।
स्वास्थ्यकर्मीसहित करिब ३ सय ५० जनाको टोलीले २ घन्टासम्म सरसफाइ गरेको थियो। सरफाइपछि संकलन भएको करिब ४ ट्याक्टर फोहर उपमहानगरपालिकासँग समन्वय गरेर बिर्सजन गरिएको छ।

अस्पताललाई सझा र हराभरा बनाउने उद्देश्यले अस्पताल परिसरमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको अस्पतालका निमित्त प्रमुख डा कृष्ण आचार्यले बताए।
१ सय २७ वर्ष पुरानो भेरी अञ्चल अस्पतालमा १ सय ७६ बेड छन्। अस्पतालले दैनिक ७ सय देखि १ हजारसम्म बिरामीलाई उपचार सेवा दिँदै आएको छ।