काठमाडौं- चिकित्सा सुधारका अभियन्ता डा गोविन्द केसीले एमबिबिएस भर्नामा सरकारले तोकेको शुल्क विपरीत केही निजी मेडिकल कलेजहरुले बढी शुल्क लिइरहेको भन्दै कारबाहीका लागि माग गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै अवैध रुपमा मनपरी रुपमा भर्ना शुल्क असुल्ने निजी मेडिकल कलेजहरुलाई कालोबजारी तथा ठगी मुद्दामा तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
भर्ना लिएपछि पनि मेडिकल कलेजहरुले विभिन्न बहानामा ठगी गर्ने गरेको पाइएको भन्दै डा केसीले अवैध शुल्क नतिर्न र ठगीको सामूहिकरुपमा विरोध गर्न विद्यार्थीलाई आग्रह समेत गरेका छन्।
काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले मेडिकल माफियासितको मिलेमतोमा सरकारले तोकेभन्दा बढी शुल्क निर्धारण गरेको तथा विराट र नोबेल मेडिकल कलेजले मेडिकल काउन्सिलले दिएकोभन्दा बढी सिटमा भर्ना लिएको भन्दै डा केसीले आपत्ति जनाएका छन्। 'त्यसरी अवैध रुपमा थप सिटमा भर्ना भएका विद्यार्थीहरुलाई लाइसेन्स नदिने भनेर मेडिकल काउन्सिलले सूचना निकालिसकेकाले विद्यार्थी तथा अभिभावकलाई समयमै भर्ना रद्द गर्न आग्रह गर्छौं', विज्ञप्तिमा भनिएको छ।
डा केसीले पछिल्लो समय त्रिवि पदाधिकारीहरुले आइओएमका डीनको काममा अवरोध गरिरहेको तथा त्यसका लागि आइओएमका कर्मचारीहरु नै परिचालन गरेको भन्दै त्यसप्रति पनि आपत्ति जनाएका छन्। उनले यसबाट आइओएमको कार्यसम्पादन प्रभावित भएर संस्था नै अस्तव्यस्त हुने भएकाले तत्काल त्यस्तो अवरोध रोक्न त्रिवि पदाधिकारीहरुलाई आग्रह गरेका छन्।