काठमाडौं– देउराली जनता फर्मास्युटिकल्सले ३ सय २० थरीका औषधी उत्पादन गरिरहेको जनाएको छ । स्थापनाको २७ औँ वार्षिकोत्सव समारोहका उक्त जानकारी दिएको हो ।
कम्पनीको वार्षिकोत्सवमा समारोहमा पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले देउराली जनताले औषधि क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । समारोहलाई सम्बोधन गर्दै उनले औषधिको कच्चा पदार्थका रुपमा नेपाली जडिबुटीको प्रयोग हुनुपर्नेमा जोड दिए । उनले भने, ‘एलोप्याथी मात्रै होइन, गुणस्तरीय आयुर्वेदिक र होमियोप्याथी औषधि निर्माणमा पनि नेपाली औषधि कम्पनीहरुले नेतृत्व लिन जरुरी छ।’
औषधी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन सरकार र निजी औषधि कम्पनीहरुको सहकार्यमा उनले जोड दिए । प्रतिनीधि सभा सांसद तथा नेकपा एमालेका माहासचिव ईश्वर पोखरेले देउराली जनता फर्मास्यूकल्सले औषधि उत्पादन मात्रै नगरी रोजगारी र राजश्वमा पनि ठूलो योगदान पुर्याएको भन्दै प्रशंसा गरे । कम्पनीका सञ्चालकलाई सचेत गराउँदै भने, ‘धेरै यस्ता कम्पनीहरु नाफा कमाउने होडबाजीमा छन् तर देउराली जनताले नाफा कमाउने दौडमा औषधिको गुणस्तरमा सम्झौता नगरोस् ।’
कम्पनीका कार्यकारी निर्देशक हरि भक्त शर्माले उपराष्ट्रपति पुन र सांसद पोखरेल समक्ष स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकता दिन नसकेको गुनासो गरे । उनले भने, ‘आयात नीतिका कारण विदेशी कम्पनी सहज रुपमा नेपाली बजार प्रवेश गरिरहेका छन् । आयातित औषधीसँग स्वदेशी उधोगहरुले प्रतिस्पर्धा गर्न मुश्किल परिरहेको छ।’
औषधिको ४४ प्रतिशत बजार नेपाली उत्पादनले ओगटेको उनले बताए । आफ्नो कम्पनीले उत्पादन गरेका औषधि मात्रै करिब एक लाखले उपभोग गरिरहेको आंकडा उनले प्रस्तुत गरे।
कम्पनीले ४ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ । सरकारले उद्योग, कलकारखाना मैत्री कानुन बनाउनुपर्नेमा उनको जोड थियो । देश विकासका लागि उद्योगको विकास जरुरी रहेको बचाउँदै उनले भने, ‘देउराली जनता जस्ता ५ उद्योग खुल्ने हो भने विकासमा ठूलो योगदान पुग्छ।’