नेपालगन्ज– नेपालगन्जको भेरी अञ्चल अस्पतालले बिरामीहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने दलाल माथि निगरानी तथा कारबाही सुरु गरेको छ।
अस्पतालमै कार्यरत केही स्वास्थ्यकर्मीहरुले अस्पतालको प्रयोगशाला उपलब्ध चेक जाँच तथा अस्पतालकै फार्मेसीमा उपलब्ध औषधीका लागि पनि बाहिर पठाउने गरेका छन् । आफूलाई कमिशन आउने पसलमा पठाउने र त्यहाँ पुर्याउन पनि दलाल राख्ने गुनासो बढेपछि अस्पताल प्रशासनले दलालमाथि कारबाहीको थालेको हो।
अस्पताल प्रशासनले नेपाल प्रहरीसँग समन्वय गरेर अस्पतालबाट बिरामीलाई हात समातेर अस्पताल बाहिरको ल्याव लैजाँदै गरेकी एक महिलालाई नियन्त्रणमा लिएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट कृष्ण आचार्यले अस्पातल परिसरमा दलालहरुको बिगबिगी बढेका कारण प्रहरीको सहयोगमा दलालहरु बिरुद्धको अभियान सुरु गरिएको बताए । उनले भने, ‘अस्पतालमा आउने बिपन्न तथा जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा इकाइमार्फत् दिइने सुविधालाई समेत दलालहरुले आफूले उपलब्ध गराइदिएको भन्दै बिरामी र उनका आफन्तबाट अनुचित लाभ लिने गरेको पाइएको छ ।’
उनले अस्पताल भित्रै फार्मेसी, ल्याब, एक्सरे, अल्ट्रसाउण्ड तथा अन्य सेवाहरु गुणस्तरीय र भरपर्दो सेवा भए पनि उपचारको लागि आउने बिरामीलाई ठग्ने तथा उनीहरुलाई बढी आर्थिक भारमा पार्ने उद्देश्यले सक्रिय गिरोह बिरुद्ध कडा रुपमा अघि बढ्ने बताए।
कमिशनको प्रलोभनमा परेर बिरामीलाई ठगी गर्ने कार्यमा संलग्न अस्पतालका चिकित्सक र कर्मचारी माथि निगरानी राख्न समेत थालिएको उनले बताए।
दक्ष चिकित्सक लगायत जनशक्ति भएपनि चर्काे राजनीतिक हस्तक्षेप, ब्यापक भ्रष्ट्राचार र दन्डहिनताका कारण भेरी अञ्चल अस्पतालको सेवामा प्रश्न उठ्न थालेपछि अस्पताल प्रशासनले सुधारका प्रयास थालकोे हो।
अस्पतालको इमरर्जेन्सी कक्षमा कार्यरत केही स्वास्थ्यकर्मी र डाक्टरहरुको ओपिडिमा बस्ने सहयोगीसँगको मिलेमतोमा गरिब तथा बिपन्न बिरामीहरुलाई आफ्नो पसलमा लगेर औषधि किनाउने र आफ्नैमा ल्याब जाँच गराउन लगाउने गर्दै अएका थिए । अस्पतालमै उपलब्ध एक्सरे भिडियो एक्सरे, इसिजी, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इको लगायतका चेक जाँचका लागि अस्पतालका कर्मचारीले बाहिर पठाउँदै आएका छन्।