नयाँदिल्ली– भारतीय वित्तमन्त्री अरुण जेटलीले आगामी चुनावअघिको अन्तिम बजेटमा धेरैलाई चकित पारिदिएका छन्। उनले अमेरिकाको जस्तै भारतमा महत्वाकांक्षी ‘आयुष्मान भारत’को योजना लागू गर्ने घोषणा गरेका छन्।
जेटलीको यो घोषणा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाकोे ‘ओबामा केयर’सँग मिल्दोजुल्दो छ। तर, यसलाई संसारकै सबैभन्दा ठूलो स्वास्थ्य योजना बताइएको छ।
यस वर्ष भारत सरकारले स्वास्थ्य र उपचारका लागि १२ हजार करोड रुपैयाँको कोष छुट्याएको छ।
बजेट भाषणका क्रममा वित्तमन्त्री जेटलीले भने, ‘स्वस्थ भारतबिना देशको सफलता सम्भव छैन। यस योजनाबाट ५ लाख नयाँ स्वास्थ्य केन्द्र बन्नेछन्। स्वास्थ्य केन्द्र निर्माणमा निजी क्षेत्रका कम्पनीले सपनि भाग लिन सक्छन्। यही योजनाबाट १० करोड परिवार अर्थात् ५० करोड जनताको प्रतिवर्ष ५ लाख भारु बराबरको उपचार सेवा सरकारले बेहोर्नेछ।'
उनले यो स्वास्थ्य योजनाले नयाँ भारत बनाउने पनि बताएका छन्।
‘यसबाट नयाँ रोजगारी सिर्जना हुनेछ। यो योजना अन्तर्गत क्षयरोगीलाई ६ सय करोड रुपैयाँ छुट्याइएको छ। उनीहरु प्रत्येकले मासिक ५ सय रुपैयाँ पनि पाउनेछन्।’
यस योजनाअन्तर्गत भारतका विभिन्न ठाउँमा २४ वटा नयाँ मेडिकल कलेज स्थापना गरिने भएको छ। एक निर्वाचन क्षेत्रमा एक मेडिकल कलेज खोलिने योजना छ। यसका साथै सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने बताइएको छ।
वित्तमन्त्री जेट्लीले यसलाई ‘ओबामा केयर’ जस्तै ‘मोदी केयर’ भन्न सकिने बताएका छन्।
उनले राष्ट्रिय स्वास्थ्य बिमा योजना सुरु भएपछि त्यसका आधारमा ‘आयुष्मान भारत’ योजनाको अनुमानित बजेट २.५ खर्ब भारु सम्म हुनसक्ने बताए।
भारतीय विश्लेषकरुले भने मोदी केयरबाट उत्साहित हुनुअघि प्रधानमन्त्रीको स्वास्थ्य बिमा योजना सम्झिनु उचित हुने टिप्पणी गरेका छन्। सरकारले ल्याएको स्वास्थ्य बिमा योजनाको कार्यान्वयन एकदमै खराब थियो। जसको फाइदा निजी अस्पतालहरुले लिइरहेका छन्।