काठमाडौं- सर्वोच्च अदालतले आफ्नो पक्षमा आदेश जारी गरेपछि डा राजेन्द्र पन्त पुन महानिर्देशकका रुपमा काममा फर्किने भएका छन्। सर्वोच्चले स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेका डा राजेन्द्र पन्तलाई मन्त्रालय सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न आज बिहिबार अन्तरिम आदेश जारी गरेको हो।
यो आदेशपछि डा पन्तले स्वास्थ्यखबरसँग कुरा गर्दै भने, ‘कानुनी सल्लाह लिएर काममा फर्किनेछु ।’ डा पन्तले बिना कारण मन्त्रालय सरुवा गरेपछि राजीनामा पत्र बुझाएका थिए । तर, मन्त्रालयले उनको राजीनामा पत्र बुझेको थिएन ।
‘मैले राजीनामा दिएको समयमा सचिव नभएका कारण पत्र बुझिएको थिएन,’ उनले भने, ‘त्यसपछि म साथीभाइहरुको सल्लाहमा अदालत गएको थिएँ, अदालतबाट आदेश आएपछि अब काममा फर्किन्छु ।’
न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले पन्तलाई मन्त्रालय तान्दै अर्का व्यक्तिलाई उक्त जिम्मेवारी दिने निर्णय कानुनसम्मत नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो। कार्यकाल समाप्त नभई पन्तलाई सरुवा गरिएको सर्वोच्चको आदेशमा उल्लेख छ।
आफूलाई मन्त्रालय तानेपछि डा पन्तले माघ १७ गते सर्वोच्चमा रिट हालेका थिए। डा पन्तलाई सरुवा गर्नुको कारण लिखित रुपमा १५ दिनभित्र पेश गर्न समेत सर्वोच्चले स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयको नाममा आदेश जारी गरेको छ।
स्वास्थ्यमन्त्री दीपक बोहोराले पन्तलाई विभागको महानिर्देशकबाट मन्त्रालय तानेका थिए।
पन्त मन्त्रीस्तरीय निर्णयबाट २०७३ माघ ७ मा विभागको महानिर्देशकमा नियुक्त भएका थिए। बालस्वास्थ्य महाशाखाका निर्देशक रहेका बेला उनलाई तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेका थिए।