काठमाडौं– नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच असोज १३ गते भएको सम्झौता कार्यान्वयन नभएको भन्दै संघले अपत्ति जनाएको छद । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको ४ बुँदे सहमतिको कार्यान्वयनमा कुनै पहल नगरिएके भन्दै अन्दोलनको चेतावनी दिइएको छ।
सम्झौतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्बन्धमा बनेको नियमावली २०६९ लाई परिमार्जन गरि कानून हातमा लिने व्यक्ति वा समूहलाई बिना धरौटी हिरासतमा लिई कानून बमोजिम कारवाही गर्न सकिने व्यवस्थाका सम्बन्धमा स्वास्थ्य मन्त्रालयले तत्काल आवश्यक प्रक्रिया शुरु गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जिम्मेवारी, कार्यदक्षता र सो अनुरुपको पारिश्रमिक तथा सुविधालाई समयानुकुल बनाउने लगायतका बुँदाहरु समावेश छन्।
नेपाल सरकारको तर्फबाट पटक पटक सम्झौता गर्दै जाने तर त्यसको कार्यान्वयन नगर्ने प्रवृत्तिले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई चिन्तित तुल्याएको संघले जारी गरेको विज्ञप्तमा भनिएको छ । महासचिव डा लोचन कार्की हस्ताक्षरित विज्ञप्तिमा संघको अगुवाईमा पटक–पटक नेपाल सरकारले गरेका सम्झौताको अक्षरस कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गरिएको छ।