धुलिखेल- पूर्व स्वाथ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले बिरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताए।
आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखा, लायन्स क्लब अफ काभ्रे शाखा र ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रे शाखाको संयुक्त आयोजनामा भएको रक्तदाताको सम्मान कार्यक्रममा बोल्दै उनले दान गर्नेले निःशुल्क रुपमा गरेको हुँदा पाउनेले पनि निःशुल्क रुपमा पाउने व्यवस्था गनुपर्ने बताए। त्यसका लागि रगत सुरक्षित गर्ने, गुणस्तर र व्यवस्थित गर्ने काममा लाग्ने खर्चका लागि रेडक्रस र मन्त्रालयले विकल्प खोज्नुपर्ने उनले सुझाव दिए।
‘मैले स्वास्थ्य मन्त्री हुँदा त्यस विषयमा रेडक्रससँग छलफलको प्रक्रिया अगाडि बढाइसकेको थिएँ, आशा छ अब बन्ने नयाँ सरकारले पनि त्यस विषयमा छलफल अगाडि बढाएर नयाँ नीति ल्याउनेछ’, थापाले भने।
सो अवसरमा उनले प्रत्येक नागरिकले स्वास्थ्य बिमा गर्ने व्यवस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। ‘आफ्नो वार्षिक आम्दानीको आधारमा स्वास्थ्य बिमा गर्ने र आम्दानी नै नभएकाहरुका लागि सरकारले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था गर्नुपर्छ’, उनले भने।
कार्यक्रममा रक्त सञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले अहिलेसम्ममा दुई लाख ३० हजारभन्दा बढीले रक्तदान गरिसकेको बताइन्। ‘अब हाम्रो देशमा कृत्रिम रगत छैन, रक्तदाता देशैँभरि भएकाले रगतको अभावमा कृत्रिम रगत खोज्नुपर्ने अवस्था छैन’, उनले भनिन्।
सो अवसरमा उनले कुल रक्तदाता संख्याको १५ प्रतिशतमात्रै रक्तदाता महिला भएकाले त्यसलाई बढाएर यस वर्षमा ३० प्रतिशत पु¥याउने अभियान चलाइरहेको बताइन्।
कार्यक्रममा ५० पटकभन्दा बढी रक्तदान गर्ने काभ्रेका १० जना रक्तदातालाई सम्मान गरी बाजागाजासहित बनेपा नगर परिक्रमा गराइएको थियो। रासस