काठमाडौं- सर्वोच्च अदालतले आफ्नो पक्षमा आदेश जारी गरेपछि डा राजेन्द्र पन्तले पुन: निमित्त महानिर्देशकका रुपमा काम गर्न पाऊँ भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका छन् ।
डा पन्तले ११ बजे मन्त्रालयमा पुनर्वहालीका लागि पत्र बुझाएका हुन् । उनले बुझाएको पत्रमा सर्वोच्चको आदेश अनुसार निमित्त महानिर्देशकका रुपमा आजकै मिति देखि काम गर्न आवश्यक व्यवस्था गर्न वा निर्देशन सहितको पत्र दिन उल्लेख छ ।
डा पन्तले पत्र बुझाएको जानकारी दिँदै भने ‘अदालतबाट मैले न्याए पाएको छु । मन्त्रालयका वरिष्ठ प्रशासकले अदालतको मर्यादा कायम राख्दै आजैबाट काम गर्न दिनुहुन्छ भन्ने मेरो विश्वास छ ।’
सर्वोच्चले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक रहेका डा राजेन्द्र पन्तलाई मन्त्रालय सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न बिहिबार अन्तरिम आदेश जारी गरेको थियो।
न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले पन्तलाई मन्त्रालय तान्दै अर्का व्यक्तिलाई उक्त जिम्मेवारी दिने निर्णय कानुनसम्मत नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो। कार्यकाल समाप्त नभई पन्तलाई सरुवा गरिएको सर्वोच्चको आदेशमा उल्लेख छ।
आफूलाई मन्त्रालय तानेपछि डा पन्तले माघ १७ गते सर्वोच्चमा रिट हालेका थिए। डा पन्तलाई सरुवा गर्नुको कारण लिखित रुपमा १५ दिनभित्र पेश गर्न समेत सर्वोच्चले स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयको नाममा आदेश जारी गरेको छ।
स्वास्थ्यमन्त्री दीपक बोहोराले पन्तलाई विभागको महानिर्देशकबाट मन्त्रालय तानेका थिए।
पन्त मन्त्रीस्तरीय निर्णयबाट २०७३ माघ ७ मा विभागको महानिर्देशकमा नियुक्त भएका थिए। बालस्वास्थ्य महाशाखाका निर्देशक रहेका बेला उनलाई तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेका थिए।