सुर्खेत– जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई मोसो दलेर दुर्व्यवहार गरिएको विरोधमा तीन दिनदेखि आन्दोलित कालिकोटका स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएका छन्।
अस्पतालका प्रमुख डा कौशल अलीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले कालिकोटका सबै स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सबै सेवा बन्द गरेका थिए।
प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको हो।
गत शुक्रबार कालिकोट जिल्लाको रास्कोट नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुन रास्कोट गएका जिल्ला स्वास्थ्य प्रमुख डा अलीलाई विप्लवका कार्यकर्ताले मोसो दलेका थिए।
डा अलीले आफूलाई दुर्व्यवहार गर्ने व्यक्तिका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गरेको बताए। मंगलबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारीले दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले आन्दोलन फिर्ता लिएको डा अलीले जनाए।
स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएसँगै मंगलबारदेखि जिल्लाका सबै स्वास्थ्य संस्थामा नियमित सेवाहरु सञ्चालन भएका छन्।