धनगढी- जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले फागुन दोस्रो साता जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी निःशुल्क खुवाउन तीन दिने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
हात्तीपाइले रोगको संक्रमण हुनबाट जोगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले फागुन १२, १३ र १४ गते जिल्लाभरीनै अभियानका रुपमा औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको हो।
हात्तीपाइले रोग विरुद्धको औषधी वर्षको एक पटक गरी चारदेखि छ वर्षसम्म खुवाउनु पर्ने प्रावधान अनुसार सरकारले यस वर्ष कैलाली लगायत देशका २४ जिल्लामा कार्यक्रमलाई निरन्तरता दिएको छ।
कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जिल्लामा आम औषधी सेवन कार्यक्रम प्रभावकारी नभएको एक सर्वेक्षणले देखाएको बताए ।
७ नम्बर प्रदेशको ९ वटै जिल्लामा सरकारले सन् २०१३ देखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो । औषधि खुवाउने कार्यक्रम पा“चौ चरण पुरा गरी छैठौं चरणमा प्रवेश गरिरहेको अवस्थामा प्रदेश नम्बर ७ का तराईका जिल्लामा कार्यक्रमको उपलब्धी निराशाजनक देखिएको उनले जानकारी दिए ।
11 संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागको टोलीले कात्तिकको तेस्रो साता ७ नम्बर प्रदेशको ९ वटै जिल्लामा रगत परीक्षण गर्दा कैलाली र कञ्चनपुरमा संक्रमण दर दुई प्रतिशतभन्दा बढी देखिएको थियो ।
७ नम्बर प्रदेशको डडेल्धुरा, अछाम, डोटी, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा हात्तीपाइलेको संक्रमण दर दुई प्रतिशतभन्दा कम देखिएको थियो । कैलालीमा सन् २००१ को तुलनामा संक्रमण दर वृद्धि भएको देखाएको छ । सन् २००१ मा कैलालीमा ६ प्रतिशत संक्रमण दर रहेकोमा भर्खरै गरिएको अध्ययन अनुसार ६ दशमलव ३३ प्रतिशत संक्रमण दर रहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १०, ११ र १२ (साविकको पहलमानपुर गाविस) र लम्की नगरपालिकाको वडा नम्बर ६, ८ र १० (साविकको चुहा गाविस) का छ सय जनाको रक्त परीक्षण गर्दा ३८ जना अर्थात् ६ दशमलव ३३ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको तथ्यांकमा उल्लेख छ ।
परीक्षणले कञ्चनपुरमा सन् २००१ को तथ्यांकअनुसार हात्तीपाइलेको संक्रमण दर २० प्रतिशत थियो भने भर्खरै गरिएको सर्वेक्षणले संक्रमण दरमा सुधार भएको देखाएको छ । कञ्चनपुरमा अहिले दुई दशमलव आठ संक्रमण दर रहेको छ ।
सरकारले सन् २०२० सम्म हात्तीपाईले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट सो रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो ।
सरकारले सन् २०१८ भित्र हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने लक्ष्य सहित विविध कार्यक्रम गरिरहेको छ ।
औषधि खा“दा मान्छेको मृत्युसम्म भएको, धेरै मान्छे बिरामी परेको जस्ता गलत प्रचारका कारण औषधि लिने, तर नखाने समस्याले जिल्लामा औषधी सेवन कार्यक्रम प्रभावकारी नभएको कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले बताए ।
उनले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लामा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताए । जिल्लामा औषधी सेवन कार्यक्रम प्रभावकारी नभएपछि कार्यालयले जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै छ उनले भने यो कार्यक्रम अन्र्तगत जिल्ला, स्थानीय तह, वडा स्तरिय अन्र्तक्रियासंगै स्वयमसेवीकाको अभिमुखिकरण, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, प्रचार–प्रसार लगायतका क्रियाकलाप गर्ने छौं ।
कार्यक्रम अन्र्तगत बुधबार धनगढीमा जिल्ला स्तरिय सरकारी कार्यालयका प्रमुखहरुसंग अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विनोद घिमिरे, महिला तथा बालबालिका कार्यालयकी प्रमुख सन्ध्या सिंह लगायत विषयगत कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाईज भट्टले दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी आमा, सिकिस्त बिरामी (जसले दैनिक क्रियाकलाप गर्न सक्दैनन्, ओछ्यानमा परेको, कडा रोग जस्तै, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, मृगी (छारे रोग) का रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका पा“च वर्ष मुनिका बालवालिकाहरुले यो औषधीको सेवन गर्न नहुने सुझाव दिए।