काठमाडौं– स्वास्थ्य क्षेत्रमा क्रियाशिल १६ वटा पेशागत संघ, संगठन र ट्रेड युनियनले प्रदेशमा स्वास्थ्य मन्त्रालय छुट्टै राख्न माग गरेका छन् । बुधबार बसेको उनीहरुको संयुक्त बैठकले स्वास्थ्य संरचना गत वैशाख २१ गतेको मन्त्री परिषद्को निर्णय बमोजिम हुनुपर्ने निष्कर्ष निकालेको छ।
उक्त निर्णयमा संघीय संरचना अनुसार प्रदेशमा स्वास्थ्य मन्त्रालय, महानगरमा महानगर स्वास्थ्य महाशाखा, उपमहानगरमा उपमहानगर स्वास्थ्य महाशाखा र नगर र गाउँपालिकामा स्वास्थ्य शाखा हुने निर्णय गरेको छ।
यसैगरी सवै तहको स्वास्थ्य क्षेत्रको नेतृत्व तथा व्यवस्थापनमा स्वास्थ्य सेवाकै कर्मचारी हुनुपर्ने माग समेत राखेको छ । ‘गत माघ १० गते मन्त्री परिषद्ले स्वीकृत गरेको अस्थायी दरबन्दी अनुसारको संरचनाले स्वास्थ्य सेवाको व्यवस्थापन गर्न नसक्ने भएकाले त्यसको असर स्वास्थ्य सेवामा पर्नेछ र स्वास्थ्य सेवा धरासायी हुने देखिन्छ । त्यसैले न्युनतम रुपमा कर्मचारीको अस्थायी व्यवस्थापनमा पनि परिवर्तन गर्न जरुरी छ,’ निर्णयमा भनिएको छ।
निर्णयमा प्रदेश स्वास्थ्य मन्त्रालयमा ११/१२औं तह, महानगर र उपमहानगरमा ९/१० औं तह र नगरपालिका र गाउँपालिकामा ७/८ औं तहको नेतृत्व हुनुपर्ने बताइएको छ । यसैगरी प्रदेशमा स्वास्थ्यका सवै विभागहरु, केन्द्रहरु र महाशाखाको व्यवस्था हुनुपर्नेलगायतका माग उनीहरुले अघि सारेका छन्।
उक्त माग सहितको निर्णय स्वास्थ्य मन्त्री दिपक बोहरालाई बुझाउने बताइएको छ ।

