सिमरा, बारा- कलैया अस्पतालमा सेवा सञ्चालन गर्नका लागि नेपाल विद्यार्थी संघ, बारा र केन्द्रीय समितिले संयुक्तरुपमा जिल्ला अस्पतालका मेसु अनुपमाकुमारी यादवलाई बुधबार एक ज्ञापनपत्र बुझाएका छन्।
नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बुझाएको छ। केही महिनादेखि अस्पतालमा सेवाग्राहीले प्रभावकारी रुपमा सेवा पाई नरहेको अवस्थालाई मध्यनजर गर्दै सेवा सञ्चालनका लागि दबाब सृजना होस् भन्ने उद्देश्यसहित सो ज्ञापनपत्र बुझाइएको सहमहामन्त्री रौनियारले बताए।
‘अस्पतालमा औषधि अभाव, प्रयोगशालामा केमिकल अभाव, ठूलो साइजको एक्स–रेको फिल्म अभावका कारण सेवाग्राहीले सेवा पाउन सकेका छैनन् । अस्पतालमा अभाव रहेका सामान तथा चाँडै पूर्ति गरी जनतालाई छिटो र छरितो सेवा उपलब्ध गराउन सरोकारवालाको ध्यान जाओस्’ ज्ञापनपत्रमा भनिएको छ।
जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कोही कसैलाई नरहेको हुँदा अस्पतालमा कार्यरत सबैले आफ्नो पदीय दायित्वअनुसार कामकाज अगाडि बढाई निष्ठापूर्वक सेवा प्रवाह गर्नेतिर लाग्नका लागि ज्ञापनपत्रमार्फत आग्रहसमेत गरेका छन्।
अस्पताल जस्तो संस्थामा कोही कसैबाट राजनीति नहुनु नै राम्रो भएको हुँदा कर्मचारी राजनीतिबाट टाढा नै बस्नुपर्ने जरुरी रहेको नेविसंघद्वारा बुझाइएको सो ज्ञापनपत्रमा उल्लेख छ।
कुनै पनि बहानाबाट सेवालाई अवरोध गरिए त्यसमा नेविसंघ चुप लागेर नबस्ने विज्ञप्तिमा भनिएको छ । मागप्रति सुनवाइ नभए आन्दोलनमा जान बाध्य हुने र त्यसबाट सृजित समस्याको भागिदार स्वयम् अस्पतालका प्रमुख हुने ज्ञापनपत्रमा भनिएको छ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियार, बारा जिल्लाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र यादव, जिल्ला सहसचिव हरिओम साह, सदस्यहरु विनयराज शर्मा र प्रवीण पटेलले हस्ताक्षर गरेको सो ज्ञापनपत्रको बोधार्थ नेविसंघको केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय, बारा र कलैया उपमहानगरपालिकाको कार्यालयलाई दिइएको सहमहामन्त्री रौनियारले जानकारी दिए। रासस